काठमाण्डु– अमेरिकाको मध्य टेक्सासमा आएको विनाशकारी बाढीका कारण १५ बालबालिकासहित कम्तीमा ५० जनाको मृत्यु भएको छ।
बेपत्ता भएका दर्जनौँ व्यक्तिको खोजी कार्य जारी छ। उद्धारकर्ताहरू तीव्र रूपमा खोजतलासमा लागेका छन्। सबैभन्दा बढी क्षति भएको केर काउन्टीमा मात्र ४३ जनाको ज्यान गएको पुष्टि भएको छ।
‘क्रिश्चियन युथ क्याम्प’ का २७ बालबालिका अझै बेपत्ता रहेको अधिकारीहरूले जनाएका छन्। अहिलेसम्म करिब ८५० जनाको उद्धार गरिएको छ।
ट्राभिस काउन्टी र टम ग्रिन काउन्टीसहित राज्यका अन्य क्षेत्रहरूमा पनि मृतक भेटिएका छन्।
केर काउन्टी, जहाँ अचानक आएको बाढीले ठूलो विनाश निम्त्यायो, त्यहाँको ग्वाडालुप नदीमा शुक्रबार बिहान ३ घण्टाभित्र पानीको सतह २.३ मिटरबाट ९ मिटरसम्म पुगेको थियो। अमेरिकी राष्ट्रिय मौसम सेवा (NWS) अनुसार, यो सतह रेकर्ड गरिएको दोस्रो उच्चतम स्तर हो।
नदी र जलाशयहरूमा पानीको बहाव अझै बढिरहेको छ, जसका कारण सो क्षेत्रभरि बाढीको चेतावनी जारी गरिएको छ।
स्थानीय समुदाय ज्यान गुमाएकाहरूको शोकमा डुबेको छ, भने अझै हराइरहेकाहरूको खोजी तथा सकुशल फिर्तीको आशामा प्रतिक्षा गरिरहेको छ।
–(स्रोत: सीसीटीभी प्लस)
प्रतिक्रिया