अख्तियारको अधिकृत भन्दै अमेरिका लैजाने बाहानामा ठगी गर्ने दुई जना पक्राउ


 काठमाडौं- अमेरिका पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
दाङ जिल्लाका ४१ वर्षीय छविलाल चौधरी र दाङ ४६ वर्षीय शुभ्रदा कर्मचार्यलाई शुक्रबार काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर टेकुले एक विज्ञप्ती जारी गर्दै रोल्पा जिल्ला घर भई हाल बालाजु बस्ने भरत डाँगी लगायत ७ जनाले प्रहरीमा उजुरी दिएको र सोही आधारमा खोजी गरेको जनाएको छ ।

प्रहरीले जनाएअनुसार पीडित डाँगी लगायत अन्यलाई अमेरिकाको इन्टरनेशनल इन्स्टिच्यूट अफ इन्फििनिटिजम मा जागिर लगाइदिन्छु भन्दै छविलाल चौधरी र शुभ्रदा कर्मचार्यले पटक पटक गरि प्रतिव्यक्ति २६ लाख रुपैयाँ असुल गरेको छ ।

पक्राउ परेका दुई जनलाई महानगरीय प्रहरी परिसर टेकु राखी थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा ठगी गर्ने व्यक्तिले आफु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकृत भएको तथा मन्त्रीहरुको पीए भनी प्रलोभनमा पार्न खोजेको देखिएको छ।

पीडितहरुको विश्वास लिन उनीहरुले इन्टरनेशनल इन्स्टिच्यूट अफ इन्फिनिटिजम नामको नक्कली लेटर प्याड, इन्भिटेशन लेटर, इन्भोइस फर रजिस्ट्रेशन लेटर तथा बेनिफिट्स अफ कन्फेन्स समेत दिएको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ ।

ठगी गरेको आरोप प्रमाणित भए कानुनबमोजम ५ हजार जरिवाना र ५ वर्ष जेल सजाय समेत हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement