काठमाण्डु – विवादास्पद व्यवसायी एवं बिचौलिया दीपक भट्टमाथि चलिरहेको सम्पत्ति शुद्धीकरण कसूरको अनुसन्धानमा अर्काे नाम जोडिएर आएको छ उपेन्द्र हिरावत । राष्ट्रियताको हिसाबले उनी भारतीय नागरिक हुन् तर उनी अधिकांश समय नेपालमै रहेर अनेक चलखेलमा संलग्न हुँदै आएका छन् ।
सम्पत्ति शुद्धीकरण विभागले मंगलबार व्यवसायी भट्टको घर र कार्यालयमा १३ घण्टा खोजतलास गर्दा उनका साझेदार उपेन्द्र हिरावतको घरमा समेत आकस्मिक अनुगमन गरेको छ । उपेन्द्र भारतीय नागरिक भए पनि नेपालमै घर बनाएर बसेका छन् ।
रास्वपा वरिष्ठ नेता वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको नयाँ सरकार बनेपछि भट्ट अनुसन्धानको दायरामा आउँदा उपेन्द्र पनि तानिएका छन् । तर यसअघि उनले उन्मुक्ति पाउँदै चलखेललाई निरन्तरता दिँदै आएका थिए । तत्कालीन नेकपा माओवादीका नेता जनार्दन शर्मा अर्थमन्त्री हुँदा समेत उपेन्द्र विवादमा तानिएका थिए । बजेट निर्माणको क्रममा राति अर्थ मन्त्रालय छिरेर करका दर हेरफेर गरिएको विवादमा उनको नाम समेत चर्चामा आएको थियो । भट्ट समूहको व्यापारमा लाभ पुर्याउने गरी करका दर हेरफेर गरिएको आरोप लागेको थियो । तर त्यतिबेला छानबिनको कुरा उठे पनि अन्त्यमा सबै सामसुम भएको थियो ।
अध्यागमन विभागको रेकर्डअनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने गरेको उनको विदेश यात्रा समेत अस्वाभाविक छ । उनी महिनैपिच्छे काठमाण्डुबाट विभिन्न देशको यात्रामा निस्किने गरेका छन् । पछिल्लो विवरणअनुसार उनी ४ मार्चमा थाइल्याण्ड गएर ११ मार्चमा फर्किएका थिए । त्यसअघि १७ डिसेम्बरमा टर्की प्रस्थान गरेर २९ डिसेम्बरमा फर्किएका थिए । ४ डिसेम्बरमा थाइल्याण्ड प्रस्थान गरेका उनी १३ डिसेम्बरमा फर्किएका थिए । थाइल्याण्डबाट फर्किएको ४ दिनमै उनी टर्की प्रस्थान गरेको देखिन्छ । उनी २८ नोभेम्बरमा मलेसिया प्रस्थान गरेर ३० नोभेम्बरमा फर्किएका थिए । यसरी उनी छोटो समयमै पटक–पटक भारत, यूएई लगायत देश गएको समेत देखिन्छ । भारतीय नागरिक भए पनि उनले विदेश यात्राको केन्द्र काठमाण्डुलाई बनाएका छन् ।
भट्टका साझेदार उपेन्द्र यत्तिकै विदेश यात्रा गर्दैनन् । उनले हङकङमा आफ्नो नाममा २ कम्पनी समेत खोलेका छन् । ती कम्पनीहरूको नाम निहाल ट्रेडिङ र म्याकलेल सर्भिस प्रालि रहेको छ । यी कम्पनीबाटै भट्ट र उपेन्द्रको अवैध आर्थिक कारोबार समेत हुने गरेको बताइन्छ । त्यो रकमलाई वैध बनाउन स्टक मार्केटमा लगानी गर्ने र नाफा देखाउने प्रवृत्ति समेत रहेको स्रोतको दाबी छ ।
जेनजी आन्दोलनपछि उपचारका लागि भन्दै विदेश गएका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवासँग समेत निकट सम्बन्ध रहेका उपेन्द्रले हङकङमा देउवाको आर्थिक व्यवस्थापन समेत गरिरहेको स्रोतको दाबी छ । उपेन्द्रले नेपाली नागरिकता समेत लिएको हुनसक्ने स्रोतहरूको आशंका छ ।
भट्ट र उपेन्द्रको व्यापारिक साझेदारीबाट नेपाली सुरक्षाकर्मीका लागि हतियार, पोशाक, बन्दोबस्तीका सामान आपूर्तिको ठेक्काको काम हुँदै आएको थियो । राजनीतिक नेतृत्वलाई प्रभावमा पारेर आर्थिक लाभ उठाएको अकूत सम्पत्ति आर्जन गरेको आशंकामा विभागले अनुसन्धान अगाडि बढाइरहेको छ ।
भट्ट अनुसन्धानका लागि हिरासतमा रहेका बेला भारतीय नागरिक उपेन्द्रले भने चलखेल गरिरहेको स्रोतको दाबी छ । यसबारे प्रतिक्रिया लिन उपेन्द्रसँग बारम्बार सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेन । गत चैत १९ गते पक्राउ परेका भट्टलाई जिल्ला अदालत काठमाण्डुले थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइसकेको छ ।
हङकङमा खोलिएका कम्पनीसँग सम्बन्धित कागजात –








प्रतिक्रिया