थाइल्याण्डको बारमा आगलागी हुँदा २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते

थाइल्याण्डको बारमा आगलागी हुँदा २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – थाइल्याण्डको राजधानी बैंककको एक बार तथा रेस्टुरेन्टमा भएको ठूलो आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ । आगलागीमा परेर ६० जनाभन्दा धेरै घाइते भएको बैंककका स्थानीय अधिकारीहरूले बताएका छन् ।

केही व्यक्ति अझै बेपत्ता रहेकाले मृतक संख्या बढ्न सक्ने आशंका गरिएको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मध्यरातमा थाईल्याण्डको चातुचक जिल्लामा रहेको रोङ बियर ना लाट फ्राओ नामक बारमा आगलागी भएको हो ।

दमकल टोली घटनास्थलमा पुगेर झण्डै आधा घण्टामै आगो नियन्त्रणमा लिए पनि त्यसअघि नै ठूलो मानवीय क्षति भइसकेको जनाइएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा बारको मुख्य प्रवेशद्वारबाट ठूलो आगोको मुस्लो निस्किरहेको, मानिसहरू ज्यान जोगाउन भागिरहेका तथा केही आगोले जलेको अवस्थामा बाहिर निस्किरहेको देखिन्छ ।

भागदौडका क्रममा केही मानिस लडेका छन् भने कम्तीमा दुई जनाको शरीरमा आगो सल्किएको स्पष्ट देखिन्छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा १८ महिला र ९ जना पुरुष छन् । आगो लाग्ने बित्तिकै भवनको पछाडि भागेर शौचालयमा लुक्न खोज्दा धेरैको निसास्सिएर मृत्यु भएको जनाइएको छ ।

एक प्रत्यक्षदर्शीका अनुसार आगो सल्किएपछि विस्फोट भएको थियो र सबैजना धुवाँ तथा आगोबाट बच्न भाग्न थालेका थिए ।

उनले धेरैजसो शव शौचालयभित्रै फेला परेको जानकारी दिए। थाई अधिकारीहरूले घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान शुरु गरेका खबरमा उल्लेख छ ।