ट्रम्प-किम वार्ताका लागि थाइल्याण्डको आतिथ्य गर्ने इच्छा


बैंकक- थाइल्याण्डले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनलाई दुई पक्षीय वार्ताका लागि आफ्नो देशले आतिथ्य गर्ने इच्छा व्यक्त गरेको छ । आफ्नो देशले उनीहरुको शिखर वार्ताका लागि स्वयमसेवी तरिकाले सवै व्यवस्था गर्न तयार रहेको थाइल्याण्डले मङ्गलबार जनाएको छ ।

थाइल्याण्डका विदेश मन्त्री डोन प्रामुडवीनैले पत्रकारसँग भने, ‘त्यो वार्ताका लागि आवश्यक सम्पूर्ण व्यवस्था गर्न थाइल्याण्ड तयार छ ।’ अमेरिकी दूतावासले भने अहिलेसम्म यस बारेमा कुनै प्रतिक्रिया दिएको छैन । उत्तर कोरियाका नेता किमले आउदो शुक्रबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग शिखर वार्ता गर्ने तयारी भइरहेको छ । त्यो शिखर वार्तापछि ट्रम्पसँगको शिखर वार्ताका बारेमा केही निर्णय हुनसक्ने बताइएको छ ।

राष्ट्रपति ट्रम्पले नेता किमसँग आउदो जुनमा वार्ता हुनसक्ने यसअघि नै बताएका थिए  । वार्ता उपलब्धिमुलक नहुने देखिए  बीचमै छाड्ने बताउदै उनले वार्तालाई उपलब्धिमुलक बनाउन सर्तहरु पनि राखेका छन् । तर उनले कुन ठाउँमा कुन दिन हुने भन्ने बारेमा भने केही बताए ।

थाइल्याण्ड अमेरिकाको ऐतिहासिक कुटनीतिक सम्वन्ध भएको मुलुक हो भने उत्तर कोरियासँग पनि कुटनीतिक सम्वन्ध रहेको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस
Advertisement