बिस्केटको लिङ्गो ढालियो, भैरव भद्रकालीको रथ जुधाइयो (३ तस्बिरमा हेर्नुस)


भक्तपुर- भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने लिङ्गो आज साँझ ६ बजेर २० मिनेटमा ढालिएको छ । तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी आज साँझ लिङ्गो ढालिएर यो जात्रा सम्पन्न गरिएको हो । बिस्केट जात्राको चौथो दिन शुक्रबार साँझ ६ बजेर ३३ मिनेटमा भेलुखेलस्थित ल्यासिंखेलमा उठाइएको लिङ्गो आज ढालिएको हो ।

पचपन्न हात लामो लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ढालिएको थियो । लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुई वटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिङ्गो ठड्याइने प्रचलन रहेको छ । त्यही आठ वटा डोरीले आठ कुनामा बसेर लिङ्गो ढालिएको थियो ।

लिङ्गोको कोखामा झुण्ड्याइएका दुई वटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा र आकाशभैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनाका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ ।

लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ ।

लिङ्गो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाइएको छ । भैरव र भद्रकाली देवदेवीको समागम जात्रा भनेर चिनिने सो रथ जुधाउने कार्यलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement