राष्ट्र निर्माणमा दलित समुदायको योगदान प्रशंसनीय छ: विद्यादेवी भण्डारी

राष्ट्र निर्माणमा दलित समुदायको योगदान प्रशंसनीय छ: विद्यादेवी भण्डारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दलित समुदायले नेपालको एकीकरण अभियानदेखि राष्ट्र निर्माणका विभिन्न कालखण्डमा पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको बताएको छ ।

आज काठमाण्डुमा आयोजित राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनमा उनले नेपाल एकीकरणमा पृथ्वीनारायण शाहलाई सल्लाह दिने बिसे नगर्चीको योगदानको चर्चा गरे । उनले दलित समुदायको दूरदर्शिता, समर्पण भावले राष्ट्रप्रति योगदान पुर्‍याउँदै आएका प्रस्ट पारे ।

पूर्वराष्ट्रपति भण्डारी भन्छन् “नेपालको इतिहासमा सार्वजनिक सूचना प्रवाहको जग बसाल्ने कार्यमा समेत यो समुदायले सिर्जनशील योगदान पुर्‍याएको छ, यो अतुलनीय छ ।” उनका अनुसार कटुवाल प्रथादेखि सारङ्गीको धुन र गीतका माध्यबाट गाउँ बस्तीमा सूचना तथा सन्देश फैल्याउने कामको नेतृत्व यही समुदायले गरेको छ ।

पूर्वराष्ट्रपति भण्डारीले सञ्चार क्षेत्रमा यति ठूलो योगदान पुर्‍याएको दलित समुदाय पत्रकारिताको क्षेत्रमा मुस्किलले पाँच प्रतिशत मात्रै हुनु चिन्ताजनक विषय रहेको बताए । उनले सञ्चारमाध्यमलाइृ समाजको स्वरुप जस्तै पूर्णरूपमा समावेशी बनाउन आग्रह गरे ।

समाजको रुपान्तरणमा पत्रकारिता शक्तिशाली हतियारका रूपमा रहेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले सरकारले दलित पत्रकारको क्षमता अभिवृद्धि, खोज पत्रकारितामा प्रोत्साहन, भौतिक तथा मानसिक सुरक्षाको सुनिश्चत गर्न विशेष कार्यक्रम ल्याउन जरुरी रहेकामा जोड दिए।