अनावश्यक तथा शंकास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

अनावश्यक तथा शंकास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न सकिने भन्दै प्रचार गरिएका अनावश्यक तथा शंकास्पद ‘एपहरू डाउनलोड’ तथा ‘इन्स्टल’ नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन् ।

‘पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न ‘अनलाइन’ माध्यममार्फत विश्वकप २०२६ हेर्न सकिने भन्दै ‘एन्ड्रोइड एप इन्स्टल’ गर्न लगाउने,’ विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न प्रकारका अनुमति माग्ने र त्यसको दुरूपयोग गरी मोबाइल बैंकिङ एप ह्याक गरेर आर्थिक ठगी गर्ने गतिविधि बढ्दै गएको छ ।’

साइबर ब्यूरोले एपिके, इएक्सइ, बट, इएचलगायत अनावश्यक तथा अपरिचित फाइलहरू डाउनलोड गरी इन्स्टल नगर्न सचेत पनि गराएको छ । साथै बैंक तथा वित्तीय संस्थाहरूको आधिकारिक सूचना र निर्देशनका आधारमा मात्र बैंकिङ प्रणाली ‘अपडेट’ गर्न अनुरोध गरिएको छ ।

ब्यूरोले यस विषयसँग सम्बन्धित सचेतनामूलक सामग्रीहरू आफ्नो आधिकारिक  ‘फेसबुक पेज’मार्फत सार्वजनिक गरिरहेको जनाएको छ । 

विश्वकप फुटबलको नाममा हुने साइबर ठगीबाट जोगिन सर्वसाधारणलाई सचेत रहन र आवश्यक जानकारी आधिकारिक स्रोतबाट मात्र प्राप्त गर्न आग्रह गरिएको छ ।