काठमाण्डु– नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) ले आफ्नै आधिकारिक लेटरहेड र सचिवालय प्रयोग गरेर एक निर्माण व्यवसायीकी छोरीलाई मिस नेपाल प्रतियोगितामा जिताउन सदस्यहरूसँग सशुल्क भोट मागेको खुलासा भएको छ ।
महासंघका महासचिव शिवहरि घिमिरेको हस्ताक्षरसहित साउन १४ गते जारी सर्कुलरमा कामाण्डु उपत्यका निर्माण व्यवसायी संघका प्रथम उपाध्यक्ष बासु खड्काकी सुपुत्री मिस नेपाल–२०८३ की प्रतिस्पर्धी प्रतिमा खड्कालाई भोट गर्न सबै सदस्यलाई अनुरोध गरिएको छ ।
पत्रमा क्यूआर कोडसमेत राखेर प्रति भोट १० रुपैयाँ तिर्नुपर्ने उल्लेख छ । मोबाइल बैंकिङ, नेपाल पे, ई–सेवा, खल्ती वा आईएमई पेमार्फत भुक्तानी गरी भोट गर्न महासंघले आफ्ना सदस्यलाई औपचारिक रूपमा आह्वान गरेको देखिन्छ ।
निर्माण व्यवसायीहरूको साझा छाता संगठनका रूपमा रहेको महासंघले कुनै सार्वजनिक नीति, व्यवसायिक हित वा निर्माण क्षेत्रसँग सम्बन्धित विषयमा नभई एक पदाधिकारीकी छोरीको व्यक्तिगत प्रतिस्पर्धाका लागि आधिकारिक लेटरहेड प्रयोग गरेर सदस्यलाई आर्थिक खर्च गर्न आग्रह गर्नु संस्थागत अधिकार र स्रोतको दुरुपयोग भएको भन्दै प्रश्न उठेको छ ।
महासंघको सचिवालय, आधिकारिक छाप, चलानी नम्बर र पदाधिकारीको हस्ताक्षरसहित जारी भएको पत्रले यो व्यक्तिगत आग्रह नभई संस्थागत सर्कुलरका रूपमा गएको देखिन्छ ।
उक्त सर्कुलर कार्यसमितिको निर्णयका आधारमा जारी गरेको हो वा कसैको व्यक्तिगत आग्रहमा सचिवालय प्रयोग गरिएको हो भन्नेबारे खुलेको छैन ।





प्रतिक्रिया