यी हुन् हटाउन नसकेका एमालेका मुख्यमन्त्री,प्रचण्डले साथ नदिँदा कांग्रेस हेरेको हेर्‍यै


काठमाण्डु – राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पासा पल्टाए । नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेको भएपनि प्रचण्डले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरे । यससँगै एमाले र माओवादीको सहकार्य भत्कियो, नयाँ गठबन्धन बन्यो ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर नयाँ गठबन्धन बनेसँगै थुप्रै प्रदेशबाट नेकपा एमालेका मुख्यमन्त्री पदमुक्त भए । १० दल मिलेर नयाँ गठबन्धन बन्दा एक्लै एमालेका मुख्यमन्त्री पदमुक्त हुनु स्वाभाविक थियो । तर कोशी प्रदेशमा भने एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्की हालसम्म कायमै छन् ।

मुख्यमन्त्री कार्की नेतृत्वको सरकारले बजेट ल्याउने तयारी गरिरहेको छ भने एमालेका मुख्यमन्त्री कार्कीलाई हटाउन जोडबल गरिरहेको नेपाली कांग्रेस थाकेको छ । कोशीमा हालसम्म पनि एमालेका मुख्यमन्त्री कार्कीलाई माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थन कायमै छ ।

प्रदेशसभामा ९३ सिट रहेको कोशीमा सबैभन्दा बढी एमालेसँग ४० सिट छ । सरकारलाई १३ सदस्य रहेको माओवादी, ६ सदस्य रहेको राप्रपा र १ सदस्य रहेको जसपाले समर्थन गरिरहेका छन् । कांग्रेस प्रदेश सरकारबाहिरै छ ।

नयाँ गठबन्धन बनेसँगै एमालेका मुख्यमन्त्री कार्कीलाई हटाएर नयाँ सरकार बनाउन कांग्रेसले प्रयास गरेको हो तर शीर्ष नेतृत्वले चासो नदिएपछि कांग्रेसको प्रदेश नेतृत्व थाकेको छ । जेठ ४ गते बसेको कांग्रेस प्रदेशसभा संसदीय दलको बैठकले माओवादी केन्द्र र जसपालाई कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको थियो ।

लगत्तै जेठ ५ गते कांग्रेस प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर आङ्वो र जसपा संसदीय दलका नेता निर्मला सुब्बालाई समर्थन फिर्ता लिन आग्रह गर्दै औपचारिक पत्र नै लेखेका थिए । तर दुवै दलले हालसम्म पनि समर्थन फिर्ता लिएका छैनन् । बरु सरकारमा सहभागी भएर नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरिरहेका छन् । आगामी असार १ गते प्रदेश सभामा बजेट पेश गर्ने सरकारको तयारी छ ।

माओवादी केन्द्रले कार्की नेतृत्वको सरकार छाड्ने वा नछाड्ने विषयमा केन्द्रको निर्देशन पर्खिरहेको छ । केन्द्रीय अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले कुनै निर्देशन नदिएका कारण माओवादी सरकारमा कायमै छ । कांग्रेसले दिएको पत्रबारे माओवादीको प्रदेश नेतृत्वले केन्द्रीय अध्यक्षलाई जानकारी गराइसकेको स्रोतले जनाएको छ । कांग्रेसको आग्रहमा प्रचण्डले साथ नदिँदा कांग्रेस कोशी प्रदेशमा हेरेको हेर्‍यै हुनुपर्ने भएको छ ।

राष्ट्रिय राजनीतिमा नक्कली भुटानी शरणार्थी प्रकरण चर्चामा रहेकाले नेताहरू त्यसमै व्यस्त हुँदा प्रदेशबारे निर्णय लिन नसकिएको हुनसक्ने विश्लेषण भइरहेको छ । कोशी प्रदेशको विषयमा सत्तारुढ गठबन्धनभित्र माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले छलफल गरी निर्णय लिन नसकेको प्रदेशका नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement