काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले भन्सार छली गरी ल्याइएका मोबाइल, ल्यापटप तथा तिनका पार्टपुर्जा र सुर्तीजन्य पदार्थ बरामद गरेको छ ।
प्रहरीले यात्रुमार्फत भन्सार छली गरी ल्याइएको सुनजस्तो देखिने पहेँलो धातुका सिक्री समेत बरामद गरेको जनाएको छ ।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार भदौ ६ गते अपराह्न करिब ४:३० बजे चीनको ग्वाङडोङ निवासी २९ वर्षीय चेन जुनसानलाई शंकाका आधारमा जाँच गर्दा बिलबिजक नभएका विभिन्न मोबाइल, ल्यापटप, मोबाइल तथा ल्यापटपका पार्टपुर्जा, ल्यापटपको डिस्प्ले कभर र सुर्तीजन्य पदार्थ बरामद गरिएको हो ।
चाइना इस्टर्न एयरलाइन्सको उडानबाट नेपाल आएका चेन अन्तर्राष्ट्रिय आगमनतर्फको भन्सार क्षेत्र पार गरी बाहिरिने क्रममा शंकाका आधारमा जाँचमा परेका थिए । बरामद सामग्रीको अन्दाजी मूल्य ७२ लाख २५ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बरामद सामग्रीसहित उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।
भदौ ५ गते कतारको दोहा हुँदै नेपाल एयरलाइन्सबाट काठमाण्डु आएका यात्रुमार्फत सुन ओसारपसार भइरहेको सूचनाका आधारमा विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको पार्किङ क्षेत्रमा निगरानी तथा खोजतलास गरिएको थियो ।
सो क्रममा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ का ३५ वर्षीय कृष्ण यादवले विदेशबाट आएका ३ यात्रुमार्फत ल्याएको सुनजस्तो देखिने पहेँलो धातुका ३ थान सिक्री, करिब ७५ ग्राम तौलको, संकलन गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यादवले सामग्री ल्याइदिने ३ व्यक्तिलाई ज्यालाबापत जनही १० हजार रुपैयाँका दरले कुल ३० हजार रुपैयाँ दिन लागेको अवस्थामा सो रकम समेत बरामद गरिएको प्रहरीले जनाएको छ । यादवलाई पनि आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।
प्रहरीका अनुसार चेन जुनसानको साथबाट मोबाइलका डिस्प्ले पार्टपुर्जा २६५ थान, मोबाइलका अगाडि–पछाडिका कभर अर्थात् हाउजिङ २५७ थान, आईफोनका खाली बाकस ९ वटा, आईफोन १७ प्रो ७ वटा, आईफोन १४ का ५ वटा, आईफोन १५ का २ वटा, आईफोन १५ प्रो म्याक्स र आईफोन १६ प्रो म्याक्स २ वटा तथा आईफोनका हाउजिङ ७ वटा बरामद भएका छन् ।
आईफोन १५ प्रो २ वटा, आईफोन १७ प्रो म्याक्स २५६ जीबीको प्रयोग गरिएको एउटा मोबाइल, आईफोनका ब्याट्री ९ थान, एचपी ल्यापटप ५ वटा, डेल डिस्प्ले कभर ३ वटा तथा नान्जिङ चुरोट २४ बन्डल र प्राइड चुरोट २ बन्डल पनि बरामद गरिएको छ ।
कृष्ण यादवको साथबाट भने सुनजस्तो देखिने पहेँलो धातुका ३ थान सिक्री, करिब ७५ ग्राम तौल तथा नेपाली नगद ३० हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालद्वारा जारी विज्ञप्तिअनुसार दुवै घटनामा बरामद सामग्री तथा सम्बन्धित व्यक्तिहरूलाई आवश्यक अनुसन्धान र प्रचलित कानुनबमोजिम कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।




प्रतिक्रिया