त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा मलेसियन विमान यसरी जोतियो घाँसे मैदानमा


काठामाडौं – त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा बिहीबार राति ठूलो दुर्घटना टरेको छ । एक मलेसियन विमान उडान भर्न लाग्दा घाँसे मैदानमा जोतिएको थियो । विमानस्थलमा बंगलादेशको युएस बंगला विमान ठूलो दुर्घटनामा परेको एक महिनाछि नै मलेसियन विमान ठूलो दुर्घटनाबाट जोगिएको हो ।

मालिन्दो एयरको जहाज दुर्घटना भएपछि आन्तरिक उडान पनि ठप्प भएको छ । आन्तरिक टर्मिनलमा सयौं यात्रुहरु अलपत्रमा परेका छन् ।विमानस्थलको २० अर्थात् उत्तरी क्षेत्रबाट राति ९ बजेर ४५ मिनेटमा उड्ने तयारीमा रहेको विमान मोडिएर उत्तरतर्फ लाग्दै गर्दा अगाडिको चक्कामा समस्या आएको थियो । लगत्तै जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा जोतिएको हो ।

विमानस्थल प्रहरीका अनुसार उडान अवतरण कति बेलाबाट सुरु हुन्छ भनेर एकीनका साथ भन्न सकिने अवस्था अझै छैन ।तर, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका एक अधिकारीले मध्याह्न १२ बजेभित्र विमानस्थल खुलाउने प्रयास भइरहेको जानकारी दिए । बिहीबार राति काठमाडौंबाट क्वालालम्पुर उड्न लाग्दा ओडी १८१ उडान नम्बरको मालिन्दो एयरको जहाज रनवेबाट चिप्लिएर घाँसे मैदानमा भासिएको थियो । रातिदेखि नै अन्तर्रा्ष्ट्रिय र आन्तरिक उडान ठप्प छ ।

रातिदेखि नै जहाजलाई हटाउने प्रयास भइरहे पनि सफल भएको छैन । आज बिहान पनि सुरक्षाकर्मी, प्राविधिक र विमानस्थलका कर्मचारीहरु जहाज हटाउने प्रयासमा छन् । उद्धारका लागि पुगेका सुरक्षाकर्मी र विमानस्थलका कर्मचारीले सबै यात्रुलाई सकुशल निकालेका छन् ।

त्रिभुवन विमानस्थल प्रशासनले जहाज चिप्लिए पनि सबै यात्रु सकुशल रहेको जनाएको छ । सो जहाजमा १३३ जना यात्रु सवार थिए । उनीहरु सबैलाई जहाजबाट निकालिएको र सबै यात्रु तथा चालक दलका सदस्यहरु सकुशल रहेको जनाइएको छ । यसअघि फागुन २८ गते बंगलादेशको ढाकाबाट काठमाडौँका लागि आएको युएस–बंगला विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा नेपाली र बंगलादेशीसहित ५१ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement