टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न थरुहटको माग


काठमाडौं– पूर्वसांसद रुक्मणी चौधरीले टीकापुर घट्नाको बारेमा तयार पारिएका प्रतिवेदनहरु सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन्।

थरुहट-थारुवान संयुक्त संघर्ष समितिले असार १३, १४ र १५ गते जारी गरेको ‘काठमाडौं घोषणा पत्र’ सार्वजनिक गर्न शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पूर्वसांसद चौधरीले यस्तो माग गरेकी हुन्।

२०७२ भदौ ७ गते कैलाली जिल्लाको टीकापुरमा भएको घट्ना राजनीतिक भएको जिकिर गर्दै सभासद चौधरीले झुटा मुद्दा लगाएर २६ जनालाई कैदीबन्दी गरिएकोमा आपत्ति प्रकट गरिन्। उनीहरुको निसर्त रिहाइ हुनुपर्ने उनको माग छ।

टीकापुर घटना राज्यले घटाएको उल्लेख गर्दै चौधरीले राजनीतिक रुपमै त्यसको समाधान खोज्नुपर्ने माग गरिन। सरकारको प्रत्यक्ष निगरानीमा ८ वटा प्रतिवेदनहरु तयारी पारिएपनि सार्वजनि किन नगरिएको भन्दै उनले भनिन्, ‘हामीले पहिलेदेखि नै भन्दै आएका छौं, त्यो घटनामा थारुहरुका घरहरु जले, ठूलो क्षति भयो, महिलाहरुको अस्मिता लुट्ने काम भयो, त्यसका बारेमा सरकारले किन छानबिन आयोग गठन गरेन। त्यसको लेखाजोखा किन भएन।’

टीकापुर घट्नालाई थारु आन्दोलनलाई समाप्त पार्ने अस्त्रका रुपमा राज्यले लिएको बताउँदै पूर्व सभासद चौधरीले भनिन्,‘यदि टिकापुर घट्नालाई लिएर थारु समुदायलाई प्रभावित पार्ने र हत्यारा बनाईन्छ भने, १७ हजार मान्छे मार्ने प्रचण्डलाई जेल हाल्नुपर्यो, झापा आन्दोलनको नाममा घाँटी काट्दै हिँड्ने प्रधानमन्त्री ओलीलाई जेल हाल्नुपर्यो, उहाँहरु हो खासमा हत्यारा, हामी कसरी हत्यारा भयौं ।  झुटा आरोपहरु लगाएर हामीमाथि जुन कार्य भैरहेका छन्, ती सबै गलत छन् ।’

रेशम चौधरीलाई सांसदको सपथग्रहण गराउन माग गर्दै पूर्व सभासद चौधरीले शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने जनताको कानूनी अधिकार भएको भन्दै निषेधित क्षेत्र घोषणा गरेर सरकारले कानूनको धज्जी उडाएको समेत आरोप लगाईन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement