काठमाण्डु– नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म टिङटिङले अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहुँच विस्तार गरेको छ। टिङटिङले श्रीलंकाको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक डायलग आजियाटासँग रणनीतिक व्यावसायिक सम्झौता गरेको हो।
सम्झौतापत्रमा प्रिक्साका प्रमुख कार्यकारी अधिकृत मनिष शर्मा र डायलगका नवप्रवर्तन तथा प्लेटफर्म व्यवसाय प्रमुख एवं उपाध्यक्ष विरंगा सेनेभिरत्नेले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि प्रिक्साका प्रमुख कार्यकारी अधिकृत शर्माले डायलगजस्तो बलियो साझेदारसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए। उनले यो सहकार्य व्यवसाय विस्तारमा मात्र सीमित नभई नेपाल र श्रीलंकालाई जोड्ने प्रविधिको बलियो पारिस्थितिक प्रणाली निर्माणमा समेत सहयोगी बन्ने विश्वास व्यक्त गरे।
टिङटिङले श्रीलंकाली बजारमा आफ्नो एकीकृत सञ्चार प्रणालीअन्तर्गत ‘कनेक्ट’, ‘ओम्नी’, ‘ब्रोडकास्ट’ र ‘एजेन्ट्स’ गरी चार प्रमुख उत्पादन उपलब्ध गराएको छ।
कम्पनीका अनुसार ‘कनेक्ट’ संस्थाको आफ्नै पूर्वाधारभित्र जडान गर्न सकिने प्रणाली हो। ‘द बक्स’ नामक संस्थागत उपकरणमार्फत तथ्यांक संस्थाभित्रै सुरक्षित राखेर यसको सञ्चालन गर्न सकिन्छ।
त्यस्तै, ‘ओम्नी’ले ह्वाट्सएप, भाइबर, मेसेन्जर, वेबच्याट र एसएमएसलगायत विभिन्न विद्युतीय माध्यमबाट हुने ग्राहक संवादलाई एउटै इनबक्समा एकीकृत गर्छ।
‘ब्रोडकास्ट’मार्फत हजारौँ ग्राहकलाई एकैपटक स्वचालित भ्वाइस कलबाट सूचना तथा सम्झना पठाउन सकिन्छ। ‘एजेन्ट्स’ले स्थानीय भाषामै ग्राहकसँग प्रत्यक्ष संवाद गर्नुका साथै आवश्यकताअनुसार संवादलाई मानव प्रतिनिधिसम्म हस्तान्तरण गर्न सक्ने कम्पनीले जनाएको छ।
टिङटिङका यी सेवा नेपालीसँगै अङ्ग्रेजी र सिंहली भाषामा समेत उपलब्ध छन्। श्रीलंकाली बजारलाई लक्षित गर्दै कम्पनीले तमिल र सिंहली भाषाका भ्वाइस मोडललाई थप परिष्कृत गर्ने कामसमेत अघि बढाएको छ।
‘नेपालमा निर्मित, विश्वका लागि’ भन्ने अवधारणाका साथ अघि बढेको टिङटिङको यो कदमले नेपाली स्टार्टअपले विश्वस्तरीय प्रविधि विकास गरी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्छन् भन्ने सन्देश दिएको कम्पनीको दाबी छ।




प्रतिक्रिया