बैशाख ९ गते पार्टीको तल्लो तहको एकता सम्पन्न हुन्छ : नेकपा नेता रायामाझि


काठमाडौं-  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व उप-प्रधानमन्त्री टोपबहादुर रायमाझीले यही बैशाख ९ गते पार्टीको तल्लो तहको एकता सम्पन्न हुने घोषणा गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले भने,‘एकता प्रक्रिया अलिकति ढिला भएकै हो । ढिला हुनुपनि स्वभाविक नै हो । दुई ठूला भिन्न भिन्न पार्टी मिल्ने कुरा सजिलो थिएन् । हामीले एकताको अत्यधिक काम पूरा गरिसकेका छौं । अब जनवर्गीय र स्थानीय तहको हकमा नेतृत्व टुँगो लगाउने काम बाँकी छ । त्यो पनि टुँगो लगाउनेगरि शीर्ष तहमा गम्भिरतापूर्वक छलफल भैरहेको छ ।’

रायमाझीले सरकारले विकास र समृद्धिको हकमा पहिलो वर्ष जग हाल्ने काम गरेको र आगामी दिनमा जनताले अनुभुति गर्नेगरि विकास गर्ने दाबी गरे । उनले भने,‘जनताका अपेक्षाहरु धेरै छन् । सरकारले काम गरिरहेको छ । यो सरकार पूरानो संरचनाको सरकार होईन । सरकारले राष्ट्र निर्माणको ठूलो बहस छेडेको छ । भाषण र सपना देख्नु नराम्रो होईन । यो त बुझाउने कुरा हो । यो त अभ्यासपनि हो । यो अर्थमा सरकार काफी मात्रामा सफल भएको छ ।’

नेता रायमाझीले वर्तमान सरकारले हिजोसम्म व्याप्त रहेका माफीयागिरी, अपराधिक घट्नाक्रमहरुको पर्दाफास भएको जिकिर गरे । उनले भने,‘यी सबै गलत कुरालाई सतहमा ल्याउन वर्तमान सरकार सफल भएको छ । हिजोसम्म यी विषयहरुमा ढाकछोप गर्ने काम भएका थिए । तर, यो सरकारले अहिले सतहमा ल्याएको छ । अब जनताको चाहनाबमोजिम कारबाही हुन्छ । सरकारले उपचार गर्छ ।’

सरकार असफल भयो भन्ने कुरामा आफूले विश्वास नगर्ने उनको दाबी छ । उनले भने,‘सरकारले योजना, बजेट र अधिकार संविधानअनुसार नै बाँडफाँड गरिरहेको छ । ती तहका सरकारहरु छन्, अब जनतालाई रिजल्ट दिनेगरि काम गर्छन् ।’

वर्तमान सरकारले विकास र समृद्धिको रोडम्याप अघि सारेकोले सो लक्ष्य छिट्टै पूरा हुने उनको दाबी छ । उनले भने,‘सरकारको मुल्यांकन त अब नयाँ बजेट ल्याएपछि सुरु हुन्छ । अब समृद्धिको पाईला कसरी चाल्छ ? त्यो हेर्न बाँकी छ । अनिमात्रै, सरकारको मुल्यांकन यो आर्थिक वर्षको अन्तिमबाट सुरु हुन्छ ।’

फरक प्रसँगमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प अहिले तत्काल नखोजिएको जिकिर गरे । उनले भने,‘तत्कालै प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना छैन् । प्रधानमन्त्री ओलीको अहिले विकल्प कोही छैन् । यो सरकार ढाल्ने र अर्को बनाउने भन्ने अहिले कुनै सोच वा गृहकार्य भएको छैन् ।’

प्रतिक्रिया दिनुहोस
Advertisement