सांसद तोसिमाको प्रश्न : भ्रष्टाचारमा परेका व्यक्तिलाई किन मन्त्रीको जिम्मेवारी दिइयो ?


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद तोसिमा कार्कीले भ्रष्टाचार अभियोगमा परेका व्यक्तिलाई किन स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइयो भनेर प्रश्न गरेकी छन् ।

आज मंगलबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा सांसद कार्कीले प्रश्न गरिन्, ‘हाम्रो माननीय स्वास्थ्यमन्त्री मोहन बस्नेत २०७४ सालमा स्वास्थ्यमन्त्री हुँदा टेरामक्स प्रविधि ल्याउने प्रक्रियामा खरिदबिक्री प्रक्रियामा ३ अर्बसम्म भ्रष्टाचार भएको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्ष निकालेर यो मुद्दा चलाउने भएको छ । २०७४ सालमा भएको यो घटना, यसरी मुद्दा चलिरहेको र भ्रष्टाचारको अभियोगमा परेका व्यक्तिलाई सर्वप्रथम त किन यो स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइयो ?’

अस्पतालहरूमा आवश्यक दरबन्दी थप्न नचाहने तर हुँदै नभएका अस्पतालमा पनि उपकरण खरिदको नाममा सेटिङमा कमिसन खान खोजेको उनले बताइन् । मन्त्री बस्नेतबाट स्पष्टीकरण लिएर पदबाट हटाउनका लागि प्रधानमन्त्रीलाई सुझाव दिन उनले समितिसँग माग गरिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement