पर्यटक प्रहरीमा विदेशी पर्यटकका ५ सय ४६ उजुरी


काठमाडौं- नेपाल भ्रमणमा आएका विभिन्न मुलुकका पर्यटकले नेपाल प्रहरीअन्तर्गतको पर्यटक प्रहरीमा एक वर्षमा ५ सय ४६ उजुरी दर्ता गरेका छन् । काठमाडौं उपत्यकाका १० विभिन्न स्थानमा पर्यटक प्रहरीको कार्यालय खुलेका छन् । उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरी सन २०१८ को सुरुवातदेखि २०१९ को हालसम्म ५ सय ४६ उजुरी दर्ता भएको हो । उपत्यकाबाहिर समेत १२ जिल्लामा पर्यटक प्रहरी कार्यालय सञ्चालनमा छ । देशैभर गरी २५ स्थानमा पर्यटक प्रहरीको कार्यालय रहेको छ ।

पर्यटक प्रहरी इकाई भृकुटीमण्डपका प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतका अनुसार पर्यटकका अधिकांश पासपोर्टसहितका विभिन्न कागजपत्र र मोबाइल हराएको उजुरी छ । यस्तै, होटलबाटै सामान चोरी भएका, ट्याक्सीमा सामान छुटेका, सँगै घुम्न हिँडेका गाइडबाटै धोका पाएका उजुरी पर्यटक प्रहरीमा दर्ता भएका छन् ।
राजधानीमा पर्यटन प्रहरीले नेपाल भ्रमण वर्ष २०२० मा आउने पर्यटकलाई कसरी सुरक्षा दिन सकिन्छ भन्ने सन्दर्भमा समेत बुधबार सरोकारवाला निकायलाई डाकेर छलफल गरेको थियो ।

कार्यक्रममा पर्यटनसँग सरोकार राख्ने विभिन्न निकायका प्रतिनिधि र पर्यटक प्रहरीबीच भ्रमण वर्ष र पर्यटकका सुरक्षाका विषयमा दोहोरो छलफलसमेत भएको थियो । सो सन्दर्भमा सबै पक्षको सहकार्यबाट नै पर्यटकलाई सुरक्षित भएको महसुस गराउन सकिने भन्दै सबैले हातेमाला गरेरै अघि बढ्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

कार्यक्रममा काठमाडौं प्रहरी परिसरका प्रहरी प्रमुख उत्तमराज सुवेदीले भ्रमण वर्षलाई लक्षित गरेर प्रहरीले विशेष योजना ल्याउने बताए । यस्तै पर्यटन विभागका महानिर्देशक डल्लुराज घिमिरेले विभागमा कर्मचारी थोरै हुँदा पर्यटकका सबै पक्षमा काम गर्न असहज भएको भन्दै विभागलाई थप कर्मचारी आवश्यक भएको र सरकारले भ्रमण वर्षअगावै थप कर्मचारीको व्यवस्थापन गर्नुपर्ने जनाए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement