प्रहरीको लापसे चेकिङमा ४ जना चालक पक्राउ


काठमाण्डु – लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका ४ जना चालकलाई शुक्रबार ट्राफिक प्रहरीले भक्तपुरको जगातीबाट नियन्त्रणमा लिएको छ ।

बा४ख ९३९६ नम्बरका बस चालक सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका–२ का ३२ वर्षीय पेमा घेम्सो लामा, बा५ख ४०२७ नम्बरका हाइस चालक सिरहाको सिरहा नगरपालिका–६ का २६ वर्षीय देव यादव, बा१ज ६१७४ नम्बरका सुमो चालक उदयपुरका २८ वर्षीय शिवशंखर चौधरी र बा२ज २३ नम्बरका ट्याक्सी चालक काठमाण्डुको बानेश्वर बस्ने ३५ वर्षीय जीवन गिरीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाब, ड्रग किटमा राखेर चेक गर्दा लागूपदार्थ सेवन गरेको प्रमाणित भएको थियो ।

प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रूपमा काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारीसाधनका चालकहरूले नशालु पदार्थ सेवन गरे/नगरेको चेक गर्दै आएको छ ।

जगातीमा शुक्रबार २५ सवारीसाधनलाई चेक गर्दा ४ सवारीसाधनका चालकले लागूपदार्थ सेवन गरेको पाइएको छ ।

नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगाती बुझाइएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए ।

चालकले नै लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउनु आफैंमा नियम विपरीत तथा दण्डनीय कार्य भएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठम उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए ।

सवारीसाधन चलाउँदा चालकको मात्र नभई यात्रुहरूको जीवन समेत जोखिममा पर्ने भएकाले आफू सवार सवारीसाधनका चालकले लागूपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement