सहकर्मीमा कोरोना संक्रमण भएपछि ‘बग्गी खाना’ सील, एसएसपीसहित तीन सय ट्राफिक क्वारेन्टाइनमा


काठमाण्डु – रामशाहपथमा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख सहित तीन सयभन्दा बढी ट्राफिक प्रहरी क्वरेन्टाइनमा बसेका छन् ।

शुक्रबार महाशाखाका दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पाइएपछि महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालसहित ३ सय ७५ जना महाशाखाभित्रै क्वरेन्टाइनमा बसेका हुन् ।

महाशाखाका प्रवक्ता वामदेव गौतमले सहकर्मीमा कोरोना पुष्टि भएपछि स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरेर भित्रै बसिएको जानकारी दिए ।

अहिले उनीहरुको सबैको कोरोना परीक्षणको लागि नामावली टिप्ने काम भइरहेको र  स्वाब सङ्कलन गर्ने तयारी भएको छ । उनीहरुको रिपोर्ट नआएसम्म बग्गीखानाबाट हुने सबै काम स्थगित गरिएको छ ।

महाशाखाका एसएसपी ढकालकाअनुसार सवारी व्यवस्थापनमा भने केही समस्या हुने भएको छ । उनले सवारीको चाप बढी भएको ठाउँमा कम चाप हुने स्थानमा खटिएका ट्राफिकलाई ल्याएर खटाउने जानकारी दिए ।

शुक्रबार सङ्क्रमण पुष्टि भएका दुई जनालाई भने बलम्बुमा रहेको सशस्त्र प्रहरीको कोभिड अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement