संक्रमणकालीन न्याय सम्बन्धमा देखिएको विवाद मिलेन

संक्रमणकालीन न्याय सम्बन्धमा देखिएको विवाद मिलेन


काठमाण्डु – संक्रमणकालीन न्याय सम्बन्धित गठित संयन्त्रमा विवादका विषयमा कुरा मिल्न सकेन । सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा कुरा नमिलेपछि पुनः बिहिबार बस्ने गरि सकिएको छ ।

छलफलमा संयन्त्रका सदस्य नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मासहित कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदी, महान्याधिवक्ता रमेश बडाललगायत सहभागी भए पनि विवादित विषयमा कुरा मिल्न नसकेको हो ।

बैठकपछि एमाले मुख्य सचेतक समेत रहेका बर्तौलाले केही विषयमा अध्यनन गर्न बाँकी रहेकाले आगामी बिहीबार फेरि बस्ने गरि आजको बैठक सकिएको जानकारी दिए । बर्तौलाले भने, ‘मुल ऐन, विधेयक र उपसमितिको प्रतिवेदन हेर्ने कुरा भएको छ । त्यसलाई एकीकृत गरेर उठेका प्रश्नहरूलाई पनि एकीकृत गर्ने कुरा भएको छ । सबै तयारी गरेर आगामी बिहीबार ८ बजे गृह मन्त्रालयमै बैठक बस्छौँ ।’ ।

विवादको टु.गो नलागेपछि अहिलेसम्म भएका छलफलको मस्यौदा तयार परेर त्यसमाथि आगामी दिनमा छलफलकेन्द्रित गर्नतिर समिति लागेको हो ।

यसअघि पनि शुक्रबार गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि सहमतिको जुटाउने विषयमा छलफल भएको थियो ।