त्रिभुवन विमानस्थलमा गृहमन्त्रीको छड्के, कार्यकक्षमा नरहेका कर्मचारी कारबाहीमा


काठमाडौँ– गृहमन्त्री रामबहादुर थापा बादलले त्रिभुवन विमानस्थलको आकस्मिक रुपमा छड्के जाँच गरेका छन् । उनले सोमबार दिउँसो चार बजे त्रिभुवन विमानस्थलको अध्यागमन कक्षमा पुगेका थिए । उनी पुग्दा अध्ययागमनका कमचारीहरु कार्यकक्षमा भेटिएनन् ।

कर्मचारीको खाजा खाने समय दिउँसो एक बजेदेखि दुईबजेसम्म भए पनि चार बजे मन्त्री कार्यकक्षमा पुग्दा कर्मचारी नभेटिएका हुन् । उनले त्यसबारे जिज्ञासा राख्दा एक कर्मचारीले ‘खाजा खान गएको’ भनेका थिए । उनले खाजा खाने समय १ बजेदेखि दुई बजेबीचमा हुनु पर्ने भन्दै कार्यकक्षमा नरहेका कर्मचारीलाई कारबाही गरिने बताएका छन् ।

उनले विमानस्थलको कन्ट्रोल रुमको पनि अवलोकन गरेका थिए । थापाले आफूले गृह मन्त्रालयको मातहतमा पर्ने हरेक क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेको बताएका छन् ।

‘यहाँ आउने जाने नागरिकले दुःख पाउनु नपरोस् भन्ने हाम्रो उद्देश्य हो’, उनले भने, ‘कार्यकक्षमा नभएका कर्मचारीलाई कारबाही हुन्छ ।’ यसअघि मंगलबार बिहान थापाले सुन्धारास्थित केन्द्रीय कारागारको निरीक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement