पर्यटनमन्त्री अधिकारीको बाचा पूरा, त्रिभुवन विमानस्थल भोलिदेखि २१ घण्टा चल्ने


काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक २१ घण्टा सञ्चालनमा ल्याउने भएको छ।

लामो समयसम्म जहाज आकाशमा नै होल्ड गर्नुपर्ने लगायतका समस्या बढेपछि यात्रुलाई सहजरुपमा सेवा दिने उद्देश्यले सरकारले सोमबारदेखि उक्त विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउन लागेको हो।

अब विमानस्थल बिहान ६ देखि भोलिपल्ट बिहान ३ बजेसम्म सञ्चालन हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए।

हाल बिहान ६ देखि राति १२ बजेसम्म जम्मा १८ घण्टा सञ्चालन भइरहेको छ।

यसअघि सरकारले २४सै घण्टा विमानस्थल सञ्चालन गर्ने बताएको थियो। तर, साधन र स्रोतको व्यवस्थापन, जनशक्ति आदि कारणले तीन घण्टा कम अर्थात् २१ घण्टामात्रै सञ्चालन गर्न लागिएको पर्यटन मन्त्रालयले जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको हवाई ट्राफिक चाप नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन अवधि लम्ब्याउन निर्देशन दिएका थिए।

त्रिभुुवन विमानस्थलबाट हाल आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक करीब ४ सय उडान हुने गरेको छ। जसमा आन्तरिकतर्फ हेलिकप्टरसहित करीब ३ सय ५० र अन्तर्राष्ट्रियतर्फ दुई नेपालीसहित ३० वटा वायु सेवा प्रदायकले दैनिक १ सय भन्दाबढी उडान भर्दै आएका छन्।

दैनिक एक हजार ३ सय यात्रु व्यवस्थापनको क्षमता भएको अन्तर्राष्ट्रिय विमानस्थलमा हाल बढी व्यस्त समयमा दुई हजार ५ सय भन्दा बढी यात्रु व्यवस्थापन गर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement