काठमाण्डु– त्रिपुरेश्वर बस आगजनी प्रकरणको सत्य तथ्य पत्ता लगाउन तत्काल छानबिन समिति गठन गर्न निर्देशन दिइएको छ।
संसदीय समितिले बिहीबार घटनाको वास्तविक कारण र त्यसबेलाको परिस्थितिबारे यथाशीघ्र छानबिन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न निर्देशन दिएको हो ।
प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल, समिति सदस्य धनेन्द्र कार्की र उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश काफ्लेबीच छलफल भएको छ।
गजुरेलले निष्पक्ष अनुसन्धानबाट घटनाको वास्तविक अवस्था बाहिर ल्याउनुपर्नेमा जोड दिए।
बैठकमा त्रिपुरेश्वरको घटनालाई मात्रै होइन, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन उपत्यकाको समग्र सडक यातायात व्यवस्थापन सुधार गर्ने विषयमा पनि छलफल भएको थियो।
सभापति गजुरेलका अनुसार सरकारले ‘जिरो ट्राफिक’ व्यवस्थापनको अवधारणालाई कार्यान्वयनतर्फ लैजान छलफल अघि बढाइरहेको छ।
त्यसैगरी ट्राफिक प्रहरीको सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने विषयमा पनि जोड दिइएको छ। सार्वजनिक सेवाका क्रममा व्यवहारमा नम्रता, बोलीमा शुद्धता र आर्थिक कारोबारमा पारदर्शिता कायम गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिइएको छ।
सडकमा लामो समय खटिने प्रहरीको मानसिक स्वास्थ्य र मनोवैज्ञानिक तयारीलाई समेत प्राथमिकतामा राख्नुपर्ने विषय छलफलमा उठेको थियो। सभापति गजुरेलले ट्राफिक प्रहरीका लागि छिट्टै मनोवैज्ञानिक कक्षा तथा आवश्यक परामर्श कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
एसएसपी सुरेश काफ्लेले उपत्यकाका सडकमा दैनिक १५ लाखभन्दा बढी सवारीसाधन आवतजावत गर्ने जानकारी गराए। उनका अनुसार यति ठूलो सवारी चाप व्यवस्थापन गर्न हाल करिब १ हजार ३ सय ट्राफिक प्रहरी परिचालन भइरहेका छन्।
बढ्दो सवारी चाप, सीमित जनशक्ति र सडक सुरक्षासँग जोडिएका चुनौतीका बीच ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री, व्यवस्थित र नागरिकमैत्री बनाउँदै लैजानुपर्नेमा छलफलमा जोड दिइएको थियो।
सभापति गजुरेलले सडक सुरक्षा ट्राफिक प्रहरीको मात्र जिम्मेवारी नभई सरकार, सम्बन्धित निकाय र सबै सडक प्रयोगकर्ताको साझा दायित्व भएको बताएका छन्। सडक दुर्घटना न्यूनीकरण र सडक सुरक्षाका लागि आवश्यक नीतिगत तथा संस्थागत पहललाई समितिले प्राथमिकताका साथ अघि बढाउने उनको भनाइ छ।




प्रतिक्रिया