नुवाकोट– त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट थप एक जनाको जीवितै उद्धार भएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उद्धार टोलीसँगै रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद श्रीराम न्यौपानेले सामाजिक सञ्जालमार्फत तेस्रो व्यक्तिको उद्धार भएको जानकारी दिएका हुन् ।
उद्धार गरिएका व्यक्तिको परिचय खुल्न बाँकी छ ।
यसअघि शुक्रबार बिहान सुरुङबाट दुई जनालाई जीवितै बाहिर निकालिएको थियो । उद्धार हुनेमा सप्तरीका सञ्जय साह र काठमाण्डुका कविर महर्जन छन् ।
साह नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरमेन हुन् भने महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए । उनीहरू भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि सुरुङभित्र फसेका थिए ।
दुई जनाको उद्धारपछि सुरुङभित्र अन्य व्यक्तिको खोजी जारी छ । उद्धारकै क्रममा सुरुङभित्रबाट एक जनाको शवसमेत बाहिर निकालिएको छ । शवको पहिचान हुन बाँकी छ ।
उद्धारका लागि नेपाली सेनाका सेनानी मिलनकुमार जोशीलगायतको टोली सुरुङभित्र प्रवेश गरेको थियो ।
सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा अन्य उद्धारकर्मीले सुरुङभित्र खोजी तथा उद्धारलाई निरन्तरता दिइरहेका छन् ।




प्रतिक्रिया