काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता घट्दै जाँदा आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनमा उनको दल रिपब्लिकन पार्टीलाई संसद्मा बहुमत जोगाउन कठिन हुने देखिएको छ।
महँगी, इरानसँगको युद्ध र विदेश नीतिप्रति बढ्दो असन्तुष्टिबीच रिपब्लिकन उम्मेदवारहरूले समेत ट्रम्पका केही नीतिबाट दूरी बनाउन थालेका छन्।
अमेरिकी सञ्चारमाध्यमको रिपोर्टअनुसार, १० प्रमुख जनमत सर्वेक्षणमध्ये एउटामा मात्रै रिपब्लिकन पार्टी अगाडि देखिएको छ। अहिले अमेरिकी संसद्का दुवै सदनमा रिपब्लिकन पार्टीको झिनो बहुमत छ। डेमोक्रेटिक पार्टीले आवश्यक सिट जितेमा प्रतिनिधिसभा वा सिनेटमध्ये एक वा दुवै सदनमा बहुमत हासिल गर्न सक्छ।
मध्यावधि निर्वाचनबाट अमेरिकामा राष्ट्रपति चयन हुँदैन। यसमा अमेरिकी संसद्का दुई सदन प्रतिनिधिसभा (हाउस अफ रिप्रेजेन्टेटिभ्स) र सिनेटका सदस्य चयन गर्न मतदान हुन्छ। संसद्मा बहुमत गुमाएमा ट्रम्पलाई आफ्नो चुनावी एजेन्डा कार्यान्वयन गर्न कठिन हुन सक्छ।
ट्रम्पको लोकप्रियता ३० प्रतिशतमा झर्यो
ट्रम्पको कार्यसम्पादनप्रति अमेरिकी नागरिकको समर्थन घट्दै गएको विभिन्न सर्वेक्षणले देखाएका छन्। सर्वेक्षणअनुसार उनको समर्थन ३० देखि ३६ प्रतिशतको बीचमा छ।
एनबीसी न्युजको सर्वेक्षणमा ३४ प्रतिशत, वासिङ्टन पोस्ट-एबीसी न्युजको सर्वेक्षणमा ३३ प्रतिशत र फक्स न्युजको सर्वेक्षणमा ३६ प्रतिशतले ट्रम्पको कार्यसम्पादनप्रति समर्थन जनाएका छन्।
प्यु रिसर्च सेन्टरको सर्वेक्षणमा भने उनको समर्थन ३० प्रतिशतमा सीमित देखिएको छ। यो उनको पहिलो कार्यकालको सबैभन्दा न्यून समर्थनभन्दा पनि कम भएको रिपोर्टमा उल्लेख छ। पहिलो कार्यकालमा सन् २०२१ को जनवरीमा अमेरिकी संसद्मा भएको हिंसात्मक घटनापछि उनको समर्थन घटेर ३४ प्रतिशत पुगेको थियो।
महँगीले बढायो दबाब
सन् २०२४ को राष्ट्रपति निर्वाचनका बेला ट्रम्पले महँगी नियन्त्रण गर्ने र अमेरिकी नागरिकको दैनिक खर्च घटाउने प्रतिबद्धता जनाएका थिए। तर अहिले बढ्दो मूल्यवृद्धि उनको दलका लागि चुनावी चुनौती बनेको छ।
रिपोर्टअनुसार, अण्डा, दूध, ब्रेड, मासु र तरकारीजस्ता दैनिक उपभोग्य वस्तुको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। घरभाडा तथा तेल र ग्यासको मूल्य बढ्दा सर्वसाधारणको खर्च थपिएको छ।
तलबमा केही वृद्धि भए पनि महँगीका कारण त्यसको वास्तविक लाभ नागरिकले महसुस गर्न नसकेको उल्लेख गरिएको छ।
रोयटर्स-इप्सोसको सर्वेक्षणमा ७८ प्रतिशतले वस्तुको मूल्य आफ्नो आम्दानीभन्दा तीव्र गतिमा बढिरहेको बताएका छन्।
एसोसिएटेड प्रेस (एपी) को रिपोर्टअनुसार, ६५ प्रतिशत अमेरिकी नागरिकले महँगीका लागि ट्रम्पका नीतिलाई जिम्मेवार ठानेका छन्।
राष्ट्रिय सर्वेक्षणमा ३७ प्रतिशतभन्दा बढी अमेरिकीले महँगी र बढ्दो मूल्यवृद्धिलाई देशको प्रमुख समस्याका रूपमा लिएका छन्। यस्तो अवस्थामा मूल्यवृद्धि नियन्त्रण गर्न नसक्नु ट्रम्प प्रशासनका लागि राजनीतिक रूपमा महँगो पर्न सक्ने देखिन्छ।
इरानसँगको युद्धले थपियो चुनौती
इरानसँगको युद्ध पनि ट्रम्पका लागि अर्को चुनौती बनेको छ। युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्ने दबाब सिर्जना भएको र त्यसले अमेरिकी नागरिकको दैनिक खर्च थप बढाउन सक्ने रिपोर्टमा उल्लेख छ।
एनबीसी न्युजको सर्वेक्षणमा २९ प्रतिशतले मात्रै इरान युद्ध व्यवस्थापन गर्ने ट्रम्पको तरिकाप्रति समर्थन जनाएका छन्। फक्स न्युजको सर्वेक्षणमा ६४ प्रतिशतले उनको विदेश नीतिलाई गलत ठानेका छन्।
यद्यपि, रिपब्लिकन समर्थकबीच ट्रम्पको समर्थन अझै बलियो देखिएको छ। एपीको सर्वेक्षणमा ६९ प्रतिशत रिपब्लिकन मतदाताले उनको विदेश नीतिलाई समर्थन गरेका छन्।
युद्धले निर्वाचनमा कति प्रभाव पार्छ भन्ने अहिले नै स्पष्ट छैन। तर युद्ध लम्बिँदै जाँदा इन्धनको मूल्य बढ्ने र जनअसन्तुष्टि चुलिने अवस्था आएमा त्यसको असर रिपब्लिकन पार्टीको चुनावी नतिजामा पर्न सक्छ।
आफ्नै उम्मेदवारले बढाए दूरी
ट्रम्पको घट्दो लोकप्रियताको प्रभाव रिपब्लिकन पार्टीभित्र पनि देखिन थालेको छ। रोयटर्सको अक्टोबरमा प्रकाशित रिपोर्टअनुसार, प्रतिस्पर्धात्मक मानिएका ६२ निर्वाचन क्षेत्रमध्ये ४१ क्षेत्रमा रिपब्लिकन उम्मेदवारहरूले ट्रम्पका केही नीतिप्रति असहमति जनाएका छन् वा उनीबाट दूरी बनाउने रणनीति अपनाएका छन्।
यी उम्मेदवारले ट्रम्पका सबै नीतिको विरोध गरेका भने होइनन्। पार्टीका कट्टर समर्थकबाहेक अन्य मतदाताको समर्थन प्राप्त गर्न उनीहरूले केही मुद्दामा ट्रम्पभन्दा फरक धारणा राख्न थालेका हुन्।
तर उनीहरूका लागि यो रणनीति जोखिमपूर्ण पनि छ। ट्रम्पसँग नजिक रहँदा उनको घट्दो लोकप्रियताको असर आफूलाई पर्न सक्छ। अर्कोतर्फ, उनीबाट धेरै दूरी बनाएमा ट्रम्पका कट्टर समर्थकको समर्थन गुम्ने खतरा छ।
बहुमत गुमाए के असर पर्छ?
डेमोक्रेटिक पार्टीले अमेरिकी संसद्का एक वा दुवै सदनमा बहुमत हासिल गरेमा ट्रम्पलाई आफ्ना प्रस्ताव कार्यान्वयन गर्न कठिन हुन सक्छ।
बजेट, सरकारी खर्च र नयाँ कानुन निर्माणमा संसद्को महत्त्वपूर्ण भूमिका हुन्छ। डेमोक्रेट्सले बहुमत हासिल गरेमा ट्रम्प प्रशासनका प्रस्ताव रोक्न, सरकारी खर्चसम्बन्धी निर्णयमा दबाब दिन र प्रशासनका गतिविधिमाथि संसदीय अनुसन्धान बढाउन सक्छन्।
यद्यपि, रिपब्लिकन पार्टीसँग चुनावी अभियानका लागि पर्याप्त आर्थिक स्रोत रहेको रिपोर्टमा उल्लेख छ। डेमोक्रेटिक पार्टीका केही उम्मेदवारप्रति मध्यमार्गी मतदाताको असन्तुष्टि पनि रिपब्लिकनका लागि अनुकूल हुन सक्छ।
यसैले मध्यावधि निर्वाचन ट्रम्पको लोकप्रियताको परीक्षण मात्र नभई उनको बाँकी कार्यकालमा नीतिगत निर्णय कार्यान्वयन गर्ने क्षमतामासमेत निर्णायक बन्न सक्छ।


प्रतिक्रिया