मिचिगन (अमेरिका) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको अमेरिकी सैन्य आक्रमणले आणविक क्षमता नष्ट गरेको दाबी गरेका छन् ।
उनले इरानलाई आणविक हतियार विकास गर्न वा प्रयोग गर्न दिनु विश्वका लागि गम्भीर जोखिम हुने तर्क गर्दै त्यसलाई रोक्न पूर्वसक्रिय सैन्य कारबाही आवश्यक भएको बताए ।
मिचिगनमा आयोजित चुनावी सभाअघि फक्स २ टेलिभिजनसँग कुरा गर्दै ट्रम्पले इरानसँग आणविक हतियार भए त्यसको प्रयोग हुन सक्ने दाबी गरे । आणविक द्वन्द्वबाट हुने सम्भावित मानवीय क्षति रोक्न आफूले पहिले नै कारबाही गरेको उनको भनाइ थियो । अमेरिकी आक्रमणले इरानको आणविक क्षमता आफूले अपेक्षा गरेभन्दा पनि बढी नष्ट गरेको उनले दाबी गरे ।
विश्वव्यापी ऊर्जा बजारमा अस्थिरता बढिरहेका बेला ट्रम्पले रणनीतिक महत्त्वको हर्मुज जलघाँटी हुँदै हुने तेल ढुवानी युद्ध सुरु हुनुअघिको स्तरभन्दा बढेको बताए । उनले यसका लागि अमेरिकी नौसेनाको नाकाबन्दी र सैन्य क्षमतालाई श्रेय दिए ।
ट्रम्पका अनुसार युद्धका कारण तेलको मूल्य केही बढ्ने उनलाई पहिले नै थाहा थियो । तर अहिले हर्मुज जलघाँटी हुँदै बाहिरिने तेलको मात्रा युद्धअघिको भन्दा बढी रहेको उनले दाबी गरे । अमेरिकी नौसेना प्रभावकारी रहेको उल्लेख गर्दै उनले जलघाँटीमा जारी नाकाबन्दीले तेलको आवागमन कायम राख्न सहयोग गरेको बताए ।
यसैबिच इरानी विदेशमन्त्री अब्बास अराघचीले इरानविरुद्ध थप सैन्य कारबाही गर्नु तर्कसङ्गत नहुने बताए । उनले अर्को युद्ध सुरु भए पनि इरानको नीति परिवर्तन नहुने स्पष्ट पारे ।
इरानको समाचार संस्था आईएसएनएका अनुसार विदेश नीतिमा सहमति निर्माण गर्न सैयद कमल खर्राजीले निर्वाह गरेको भूमिकासम्बन्धी विशेष कार्यक्रम, खर्राजी दस्तावेज केन्द्र तथा संग्रहालय र विदेश मन्त्रालयको विशेष पुस्तकालय उद्घाटन समारोहमा अराघचीले यस्तो धारणा राखे ।
‘फेरि युद्धको चर्चा सुरु भएको छ, तर युद्ध होस् वा नहोस्, हाम्रा नीति यथावत् रहनेछन्,’ उनले भने ।


प्रतिक्रिया