इरानलाई रुस-चीनको सहयोगबारे ट्रम्पको टिप्पणी : ‘सूचना दिनु संलग्नता होइन, गोली चलाउनु हो’

इरानलाई रुस-चीनको सहयोगबारे ट्रम्पको टिप्पणी : ‘सूचना दिनु संलग्नता होइन, गोली चलाउनु हो’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई रुस र चीनले गुप्तचर सूचना उपलब्ध गराइरहेको भन्ने खबरलाई खासै महत्त्व नदिने बताएका छन्।

उनले सैन्य द्वन्द्वमा कुनै देशको वास्तविक संलग्नता भन्नाले प्रत्यक्ष सैन्य कारबाहीमा सहभागी हुनु रहेको टिप्पणी गरेका छन्।

थ्याङ्क्सगिभिङका अवसरमा बिहीबार फ्लोरिडास्थित आफ्नो निवास मार-ए-लागोमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले रुस र चीनले इरानलाई सूचना उपलब्ध गराएको विषयलाई युद्धमा प्रत्यक्ष संलग्नताका रूपमा लिन नसकिने बताए।

‘उनीहरू संलग्न हुन सक्छन्। तर मेरो बुझाइमा संलग्नता भनेको गोली चलाउनु हो, केही सानो सूचना उपलब्ध गराउनु होइन,’ ट्रम्पले भने।

उनको यो टिप्पणी इरानलाई रुस र चीनले अमेरिकी सैन्य गतिविधिबारे गुप्तचर सूचना उपलब्ध गराइरहेको भन्ने रिपोर्ट सार्वजनिक भइरहेका बेला आएको हो। यद्यपि, ट्रम्पले ती देशले इरानलाई उपलब्ध गराएको भनिएको सहयोगको विस्तृत प्रमाण वा त्यसको प्रभावबारे खुलाएनन्।

ट्रम्पले इरानमाथि पुनः सैन्य आक्रमण गर्ने सम्भावनालाई पनि अस्वीकार गरेका छैनन्। पत्रकारहरूले अमेरिकाले इरानमाथि फेरि आक्रमण गर्न सक्छ कि सक्दैन भनेर सोध्दा उनले ‘यदि हामीले केही गर्‍यौँ भने पिक्याक्स माउन्टेनलाई निश्चित रूपमा निशाना बनाउनेछौँ’ भनेका थिए।

पिक्याक्स माउन्टेन इरानको आणविक कार्यक्रमसँग जोडिएको महत्त्वपूर्ण स्थलका रूपमा चर्चामा छ।

ट्रम्पले मध्यपूर्वमा शान्ति कायम नभए इरानले इजरायलसहित क्षेत्रका अन्य देशमाथि आणविक आक्रमण गर्न सक्ने दाबीसमेत गरेका छन्। साथै, इरानसँग युरोपसम्म मार हान्न सक्ने क्षमताका क्षेप्यास्त्र रहेको उनको दाबी छ।

इरानलाई सम्झौताको अवसर

ट्रम्पले अमेरिकाले अझै पनि इरानलाई वार्तामार्फत समस्या समाधान गर्ने अवसर दिइरहेको बताएका छन्।

‘हामी राम्रो व्यवहार गर्ने प्रयास गरिरहेका छौँ। हामी उनीहरूलाई सम्झौता गर्ने र धेरै मानिसको ज्यान जोगाउने हरेक अवसर दिइरहेका छौँ। तर उनीहरूले यो अवसर उपयोग गर्छन् कि गर्दैनन् भन्नेमा म निश्चित छैन,’ उनले भने।

उनले पछिल्ला केही दिनमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पनि कुराकानी गरेको जानकारी दिएका छन्। तर उक्त कुराकानीमा के विषयमा छलफल भयो भन्नेबारे खुलाएका छैनन्।

मध्यपूर्वका अमेरिकी सैनिकसँग संवाद

थ्याङ्क्सगिभिङका अवसरमा ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले मध्यपूर्वका विभिन्न स्थानमा तैनाथ अमेरिकी सैनिकसँग टेलिफोन संवाद गरेका थिए।

संयुक्त अरब इमिरेट्सको अल धफ्रा र साउदी अरबको प्रिन्स सुल्तान एयरबेसमा तैनाथ सैनिकसँग कुरा गर्दै ट्रम्पले इरानलाई आणविक हतियार बनाउनबाट रोक्न उनीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए।

‘आज हाम्रो देशको मात्र होइन, भावी पुस्ताका अमेरिकीहरूको सुरक्षाका लागि पनि तपाईंहरू प्रत्येकले महत्त्वपूर्ण भूमिका खेलिरहनुभएको छ,’ उनले सैनिकहरूलाई भने।

इरानविरुद्धको युद्धमा अमेरिकी सेनाले विजय हासिल गर्न लागेको दाबी गर्दै उनले सैनिकहरूको तैनाथी जारी रहने बताए। ‘हाम्रो विजय नजिकै छ,’ उनले भने। तर विजय कहिले हासिल हुन्छ भन्ने कुरा आफूले चाहेको समयमै हुने उनको भनाइ थियो।

कुवेतमा ड्रोन आक्रमण, दुई इटालियनको मृत्यु

यसैबीच, मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव थप चुलिइरहेका बेला कुवेतमा बिहीबार भएको ड्रोन आक्रमणमा दुई इटालियन नागरिकको मृत्यु भएको छ।

उनीहरू जर्मन रक्षा कम्पनी राइनमेटलको इटालियन इकाइ राइनमेटल इटालियाका प्राविधिक कर्मचारी थिए। कुवेतस्थित हवाई रक्षा निगरानी केन्द्रमा काम गरिरहेका उनीहरू ड्रोन आक्रमणको निशानामा परेका थिए।

इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले आफ्ना दुई नागरिकको मृत्यु भएको पुष्टि गरेका छन्। आक्रमणमा एक कुवेती सैनिक र एक पाकिस्तानी नागरिक घाइते भएका थिए।

कुवेतले उक्त आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाएको छ। तर इरानले आफ्नो सेनाले उक्त क्षेत्रमा कुनै आक्रामक वा सैन्य कारबाही नगरेको भन्दै आरोप अस्वीकार गरेको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले घटनाको वास्तविकता पत्ता लगाउन कुवेतसँग संयुक्त अनुसन्धान गर्न तयार रहेको पनि बताएका छन्।

यस घटनाले अमेरिका–इरान द्वन्द्वको प्रभाव खाडी क्षेत्रका अन्य मुलुकसम्म फैलिरहेको संकेत गरेको छ। इरानले यसअघि पनि खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडा र हवाई रक्षा प्रणालीलाई निशाना बनाएको दाबी गर्दै आएको अलजजीराले जनाएको छ।

अमेरिका र इरानबीचको तनावसँगै विश्वको ऊर्जा आपूर्ति र समुद्री व्यापारका लागि महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुजको सुरक्षालाई लिएर पनि चिन्ता बढिरहेको छ।