ट्रम्प र आबेका बीचमा इरानबारे कुराकानी


वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानका प्रधानमन्त्री शिन्जो आबेका बीचमा इरानका बारेमा कुराकानी भएको छ । शुक्रबार भएको टेलिफोन कुराकानीका क्रममा दुई पक्षीय व्यापार तथा आपसी हितका बारेमा पनि कुराकानी भएको अधिकारीहरुले जनाएका छन् ।

प्रधानमन्त्री आबे हालै इरान भ्रमण गरेर फर्किएकाले राष्ट्रपति ट्रम्पले आबेसँग कुराकानी गरेका थिए । उनीहरुले ओसाकामा हुन लागेको जी २० को शिखर सम्मेलनका बारेमा पनि कुराकानी गरेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले जनाएको छ । जी २० को शिखर सम्मेलन यही जुनको अन्त्य तिर हुने तय भएको छ ।

ह्वाईट हाउसद्धारा जारी वक्तव्यमा भनिएको छ, ‘राष्ट्रपति ट्रम्पले इरानसँगको संवादका लागि पहल गरिदिनु भएकोमा आबेलाई धन्यवाद दिनुभएको छ ।’ जापानी प्रधानमन्त्री आबेले यही हप्ताको सुरुमा इरानको भ्रमण गरेका थिए । यसअघि सन् १९७८ मा तत्कालिन जापानी प्रधानमन्त्री ताकेओ फुकुदा इरान गएका थिए ।

यो पछिल्लो दुर्लभ भ्रमण वासिङ्टन र तेहरानबीचको नराम्रो सम्वन्ध सुधार्ने उद्धेश्यले भएको थियो । आबेले भ्रमणका क्रममा इरानका सर्वोच्च नेता आयतोल्लाह खामेनीसँग पनि भेटवार्ता गरेका थिए । बिहीबार भएको उनीहरुको भेटका क्रममा खामेनीले ट्रम्पको सन्देशको कुनै अर्थ नभएको बताएको इरानको सरकारी सञ्चार माध्यमले जनाएको छ ।

भेटका बारेमा ट्रम्पले बिहीबार नै ट्वीट गर्दै लेखेका छन्, ‘जापानी प्रधानमन्त्री आबेले इरानमा आयतोल्लाह अली खामेनीलाई भेटेको स्वागतयोग्य कुरा छ, चाडै नै यसले एउटा सम्झौताको रुप लिने छ भन्ने मैले व्यक्तिगत रुपमा विश्वास लिएको छु ।’ सिन्ह्वा

प्रतिक्रिया दिनुहोस
Advertisement