काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार ९० मिनेट लामो टेलिफोन वार्ता भएको छ।
वार्तामा युक्रेन युद्ध, इरानसँगको कूटनीति र रुसबाट अमेरिका तथा विश्व बजारमा डिजेल आपूर्ति गर्ने विषयमा छलफल भएको छ।
ट्रम्पले वार्तालाई ‘अत्यन्त सफल’ भनेका छन्। उनका अनुसार रुसले अमेरिकी तथा विश्व बजारमा इन्धनको आपूर्ति बढाउन सहमति जनाएको छ।
रुसी उपप्रधानमन्त्री अलेक्जान्डर नोभाकले डिजेल निर्यातसम्बन्धी प्रतिबन्ध समयअगावै खुकुलो पार्ने प्रक्रिया सुरु गरिने बताएका छन्।
घोषणाअनुसार रुसले तत्काल तीन लाख टनभन्दा बढी डिजेल, नोभेम्बरमा थप पाँच लाख टन र त्यसपछि १० लाख टन आपूर्ति गर्ने योजना छ।
रिफाइनरीको अवस्थाअनुसार आपूर्ति बढाएर मासिक ३० लाख टनसम्म पुर्याउन सकिने जनाइएको छ।
अमेरिकी अर्थ मन्त्रालयले रुसी डिजेलको कारोबार तथा आयातसम्बन्धी प्रतिबन्धमा अस्थायी छुट दिँदै सन् २०२७ अप्रिल ७ सम्मका लागि व्यवस्था गरेको समाचारमा उल्लेख छ।
ट्रम्पले उक्त सहमतिले डिजेलको मूल्य घटाउन मद्दत गर्ने दाबी गरेका छन्। यसको लाभ अमेरिकी किसान, ट्रक चालक र उपभोक्ताले पाउने उनको भनाइ छ।
युक्रेन युद्धबारे छलफल
वार्ताका क्रममा पुटिनले युक्रेन युद्धको पछिल्लो अवस्था र रुसी भूभागमा भएका आक्रमणबारे ट्रम्पलाई जानकारी गराएका थिए।
पुटिनले रुस दीर्घकालीन कूटनीतिक समाधानका लागि तयार रहेको बताउँदै तत्काल त्रिपक्षीय वार्ता पुनः सुरु गर्ने योजनामा अवरोध आएको आरोप लगाए।
क्रेमलिनका विदेश मामिला सल्लाहकार युरी उशाकोभका अनुसार युक्रेनी ड्रोन आक्रमणका घटनाले रुस, युक्रेन र अमेरिकाबीच वार्ता पुनः सुरु गर्ने सम्भावनालाई प्रभावित पारेका छन्।
ट्रम्पले मियामीमा अमेरिकी प्रतिनिधिहरूसँग वार्तामा रहेका युक्रेनी पक्षलाई रुसको धारणा सुनाउने प्रतिबद्धता जनाएको उशाकोभले बताएका छन्।
इरानसँग कूटनीतिक समाधानको सम्भावना
पुटिनले इरानसँग वार्तामार्फत समाधान खोज्ने सम्भावना अझै समाप्त नभएको बताएका छन्। कतारको मध्यस्थतामा अमेरिका र इरानबीच अप्रत्यक्ष सम्पर्क जारी रहेको उनको भनाइ थियो।
रुसले इरानको उच्च संवर्धित युरेनियम स्वीकार गरेर आणविक विवाद समाधानमा सहयोग गर्न सक्ने प्रस्ताव पनि दोहोर्याएको छ। ट्रम्पले यस कूटनीतिक प्रयासमा रुसको संलग्नतालाई स्वागत गरेको उशाकोभले बताएका छन्।
अर्को शिखर वार्ताको सम्भावना
दुवै नेताले आफ्ना प्रशासन, गुप्तचर निकाय र अन्य सरकारी निकायबीच सम्पर्क कायम राख्ने सहमति गरेका छन्। यद्यपि, उनीहरूबीच अर्को प्रत्यक्ष शिखर वार्ताको मिति तय भएको छैन।
आगामी एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा दुवै नेता सहभागी भए भेटवार्ताको अवसर बन्न सक्ने उशाकोभले बताएका छन्।
वार्ताका क्रममा पुटिनले युक्रेन युद्धका कारण परिवारबाट अलग भएका बालबालिकालाई पुनर्मिलन गराउने मानवीय प्रयासका लागि अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई धन्यवादसमेत दिएका थिए।



प्रतिक्रिया