टर्कीले सिरियामा आक्रमण गर्दा एक लाख मानिस विस्थापित


एजेन्सी – टर्कीले सीमापारि सिरियामा कुर्दहरूको नियन्त्रण रहेको क्षेत्रमा आक्रमण थालेपछि झन्डै एक लाख मानिसहरू घर छोडेर भाग्न बाध्य भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। धेरै मानिसहरूले हस्साके र तल तामेर नगरका विद्यालय तथा अन्य भवनहरूमा आश्रय लिएको राष्ट्रसङ्घले जनाएको हो।

अमेरिकाले गत बुधवार सो क्षेत्रबाट आफ्नो सेना फिर्ता गरेपछि टर्कीले सैन्य कार्बाही थालेको छ । टर्कीको सैन्य कार्बाही रोक्न अमेरिकाले दबाव दिएको छ। आक्रमण नरोके टर्कीले ूगम्भीर परिणामू भोग्नुपर्ने चेतावनी अमेरिकी रक्षामन्त्रीले दिएका छन् भने अर्थमन्त्रीले नयाँ प्रतिबन्धहरूको चेतावनी दिएका छन्।

टर्कीले सैन्य कार्बाही थालेपछि कम्तीमा ११ जना गैरसैनिक नागरिकको मृत्यु भएको छ। मानवीय सहायता प्रदान गर्ने समूहहरूका अनुसार प्रभावित व्यक्तिहरूको सङ्ख्या अझ बढ्नेछ। कुर्द नेतृत्वको सिरियन डेमक्रेटिक फोर्सेस (एसडीएफ) र टर्कीलाई समर्थन गर्ने समूहका दर्जनौँ लडाकुहरूको मृत्यु भएको छ। टर्कीको सेनाले आफ्ना एक सैनिकको पनि मृत्यु भएको पुष्टि गरेको छ।

सन् २०११ मा सिरियामा गृहयुद्ध सुरु भएपछि त्यो क्षेत्रको अधिकांश भाग सिरियाली सरकारको नियन्त्रणमा छैन। सन् २०१५ देखि त्यहाँ एसडीएफको नियन्त्रण थियो। इस्लामिक स्टेट समूहविरुद्ध अमेरिकाले गरेको सङ्घर्षमा एसडीएफले सघाएको थियो। कुर्दहरूको नेतृत्वमा रहेको सेनाको सुरक्षामा राखिएका विदेशीसहित हजारौँ सन्दिग्ध आईएस बन्दीहरूको स्थितिबारे अन्तर्राष्ट्रिय समुदायको चासो रहेको छ।

आईएसले शुक्रवार आफूले एउटा कार बम विस्फोटन गराउँदा सीमावर्ती नगर कमिश्लीमा छ जनाको मृत्यु भएको दाबी गरेको छ। मृत्यु हुनेमा सर्वसाधारण नागरिक तथा सुरक्षाबलका सदस्यहरू पनि छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement