ट्याक्सीमा प्रिन्टर मेशिन जडान नहुँदा , उपभोक्ता ठगिने क्रम जारी


काठमाडौँ – नेपाल गुणस्तर तथा नापतौल विभागले कम्प्युटर विलिङ प्रणाली (प्रिन्टर मेशिन) जडान नगरेका २१० ट्याक्सीलाई कारबाही गरेको छ ।

विभागले जेठ महिनामा ट्याक्सीमाथि चलाएको विशेष अभियानअन्र्तगत उक्त ट्याक्सीलाई कारबाही गरेको हो । विभागमा हाल १० हजार ६४४ ट्याक्सी दर्ता भए पनि आठ हजार ३५४ ले मात्र प्रिन्टर मिटर जडान गरेका छन् । दुई हजार २९० ट्याक्सीले हालसम्म पनि प्रिन्टर मिटर जडान नगरेको विभागले जनाएको छ ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले पछिल्लो समय प्रिन्टर मेशिन जडान नगर्ने सवारीसाधनलाई विशेष कारबाही चलाएको जानकारी दिए । “प्रिन्टर मेशिन जडान नगरेका ट्याक्सीलाई ट्राफिक प्रहरीको सहयोगमा विभागको टोलीले अनुगमन गरेको र एक हजार जरिवाना तिराउँदै आएका छौँ,”– उनले भने । पक्राउ परेका ट्याक्सीमध्ये १८० ट्याक्सीले मिटर जडान गरेको र बाँकी ३० ट्याक्सी पनि मिटर जडान प्रक्रियामा रहेको विभागले जनाएको छ ।

विभागले २०७३ पुस १७ देखि उपत्यकाका ट्याक्सीमा प्रिन्टर मेशिन जडान गर्ने काम शुरुवात भएको थियो । २०७४ साउनसम्म प्रिन्टर मेशिन जडान गर्ने भने पनि दुई हजार ट्याक्सीमा अहिलेसम्म पनि प्रिन्टर मेशिन जडान भएको छैन ।

उपत्यकाका अधिकाशं ट्याक्सीमा प्रिन्टर मेशिन जडान गरे पनि यात्रुले भने बिल नपाउने गरेको गुनासो गरेका छन् भने अधिकाशं यात्रु ट्याक्सीबाट ठगिनेसमेत गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले प्रिन्टर मेशिन जडान गरेर पनि बिल नदिने ट्याक्सीमाथि महाशाखाले विशेष कारबाही गर्नेे बताए । “प्रिन्ट बिल नदिने भए ट्याक्सीमा प्रिन्टर मेशिन जडान गर्नुको के औचित्य छ,”– उनले भने ।

महाशाखाका प्रमुख पन्तले पछिल्लो समयमा मिटरमा जान नमान्ने तथा बिल नदिने ट्याक्सी चालकमाथि विशेष कारबाही अभियान चलाएको बताए । हाल काठमाडौँ उपत्यकामा मात्र ११ लाखभन्दा बढी र देशभर झण्डै २८ लाख सवारीसाधन आवतजावत गर्छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement