सरकारको निर्देशनः भारतीय न्यूज च्यानलमाथिको प्रतिबन्ध तत्काल नखोल्नू


काठमाडौं – सरकारले भारतीय न्यूज च्यानलमाथिको प्रतिबन्ध तत्काल नखोल्ने स्पष्ट पारेको छ ।

आइतबार मिडिया सोसाइटीका प्रतिनिधिहरुसँग भेट गर्दै सञ्चार तथा अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भारतीय मिडियाहरु नसुध्रिएसम्म प्रतिबन्ध कायम राख्न सेवा प्रदायकहरुलाई आग्रह गरिएको जानकारी दिए ।

डा. खतिवडाले सेवा प्रदायकहरुले राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गर्दै बन्द गरेका भारतीय न्युज च्यानलमाथिको प्रतिबन्ध तत्काल नखोलिने बताए ।

‘नेपालले नक्सा अद्यावधिक गरेर जारी गरेको अवस्था छ । राष्ट्रिय एकता र सबै नेपालीको ऐक्यबद्धता हामीले प्रदर्शन गरेका छौँ । उनीहरु नेपालीहरुको एकताबाट तर्सेको पनि हुन सक्छन् । एकताबाट तर्सेर, चित्त नबुझेको भए पनि स्वस्थ्य छलफलबाट अघि बढ्न सकिने हुन्छ तर जुनसुकै माध्यमबाट पनि अपमानित गर्न मिडियाले सुहाउँदैन’, उनले भने, ‘भारतीय मिडियाहरुको कदमलाई हामीले दुराशायपूर्ण भनेर भनिसकेका छौँ । केही च्यानल बन्द भएको अहिलेको अवस्था हो । सेवा प्रदायकहरुले स्वतःस्फूर्त रुपमा राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गरेर प्रतिबन्ध लगाउनुभयो । परिस्थिति अनुकूल भएर ती मिडियाहरु नसुध्रिएसम्म प्रतिबन्ध कायम राख्न म आग्रह गर्दछु ।’

उनले नेपालले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा अनुमोदन गरेपछि भारतीय न्यूज च्यानलहरु दुरासायपूर्ण रुपले प्रस्तुत भएको बताए । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले असार २५ गते भारतीय भारतीय न्यूज च्यानलहरुको नेपालमा प्रशारण रोकेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement