एमसीसी संसदबाट अनुमोदन भएपछि रकम निकासा हुन्छ: अर्थमन्त्री खतिवडा


काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले निजी विद्यालयले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मा लिने कुरा गलत कार्य भएको बताएका छन् ।

सोमबार बजेटमाथि भएको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खतिवडाले माध्यमिक शिक्षा राज्यको दायित्व भएकाले निजीलाई हतान्तरण गरेको भन्ने विषय गलत भएको बताएका छन् ।

‘सामुदायिक विद्यालयहरु निजी विद्यालयलाई हस्तान्तरण गर्न खोजेकै होइन् । र सरकारको यो उदेश्य पनि हुँदै होइन । माध्यमिक शिक्षालाई अनिवार्य रुपमा अगाडि बढाउँदै लैजाने सरकारको दायित्व हो । माध्यमिक शिक्षामा सामुदायिक विद्यालयहरुलाई निजी विद्यालयका व्यवस्थापक र सञ्चालकले हाम्रो संस्थागत सामाजिक उत्तरदायित्वभित्र आउने केही श्रोतबाट हामी सरकारलाई सहयोग गर्छौं । तपाईहरुले कुनै एउटा विद्यालय हामीलाई दिनूस हामी तपाईहरुलाई सहयोग गर्छौं भनेर सहयोग गर्न खोजेको हो’, उनले भने ।

त्यस्तै मन्त्री खतिवडाले सबै निजी क्षेत्रका प्रतिष्ठानहरुले आफ्नो सामाजिक उत्तरदायित्वभित्रको एक प्रतिशत रकम सामुदायिक विद्यालयमा खर्च गर्ने बताए ।

‘यसले सामुदायिक विद्यालयको गुणस्तर सुधार्ने, सामुदायिक विद्यालयबाट शिक्षालाई निशुल्क बनाउँदै लैजाने । र त्यसकै आधारबाट जनशक्ती उत्पादन गुणस्तरिय बनाउँदै लैजाने भनेको हो’, उनले भने ।

मन्त्री खतिवडाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएपछि मात्र त्यसको रकम निकासा हुने बताएका छन् ।

अर्थमन्त्री डा. खतिवडाले बजेटमा तीन वर्षदेखि लगातार राख्दै आएको स्पष्ट पारेका छन् ।

‘अमेरिकी सहयोग रकम त्योबेला मात्र निकासा हुन्छ, जुन बेला संसदमा विचाराधीन रहेको सम्झौता पत्र अनुमोदन हुन्छ । एमसिसीको सहयोगमा तीन वर्षदेखि कार्यक्रम गर्दै आएका छौँ’, उनले भने, ‘आगामी वर्षको बजेटमा पनि उक्त कार्यक्रम राखिएको छ ।’

सरकारले बजेटको सम्भावित वैदेशिक अनुदान सहायतासम्बन्धी अनुसूचीमा एमसीसीको पाँच अर्ब ७३ करोड रुपैयाँ राखेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement