काठमाण्डु – तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा भएको बस दुर्घटनामा घाइते भएकामध्ये १२ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
उनीहरूलाई काठमाण्डुको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालयउ शिक्षण अस्पतालमा भर्ना गरिएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।
भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो । १६ जना घाइते भएका थिए । घाइतेमध्य १२ जनालाई उपचारका लागि काठमाण्डु ल्याइएको हो ।
दुर्घटनास्थलबाट उद्धार गरी आँबुखैरेनी अस्पतालमा प्राथमिक उपचार गरेपश्चात १२ जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट त्रिवि शिक्षण अस्पताल काठमाण्डु पठाइएको तनहुँका प्रजिअ गौतमले जानकारी दिए ।
१६ घाइतेमध्य एक जनालाई चितवन र बाँकीको आँबुखैरेनी अस्पतालमै उपचार भइरहेको छ ।
पोखराबाट काठमाडौं आउँदै गरेको केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान साढे ११ बजे सडकबाट मर्स्याङ्दी किनारमा खसेको थियो । बसमा चालकसहित ४३ जना सवार थिए । उनीहरुमध्ये ३९ जनाको दुर्घटनास्थलमा उद्धार गरिएको र चार जना अझै बेपत्ता रहेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
भारतको गोरखपुरबाट पर्यटक लिएर भदौ ४ गते नेपाल भित्रिएको बसले पर्यटकलाई पोखरा घुमाएर काठमाडौंतर्फ ल्याउँदा दुर्घटनामा परेको हो ।
प्रतिक्रिया