सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई १० लाखका दरले जरिवाना

सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई १० लाखका दरले जरिवाना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभागले सिर्सिया नदीमा फोहर फ्याक्ने ६ वटा उद्योगलाई १० लाखको दरले जरिवाना गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको अगुवाइमा सिर्सिया नदी दुर्गन्धित गर्ने उद्योग तथा कलकारखानालाई प्रदूषण नियन्त्रण गर्नका १ महिनाको समय सीमा दिइएको थियो ।

१ महिनाको अवधिमा उद्योग कलकारखानाबाट निस्किने फोहरमैला तथा प्रदूषण नियन्त्रण नगरेको भन्दै उद्योग विभागले १२ वटा उद्योगलाई कारबाही प्रक्रिया अघि बढाएको छ ।

उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले ६ वटा उद्योग १० लाखका दरले जरिवाना गरेको बताए । उनका अनुसार जगदम्बा स्टिल इन्डस्ट्रिज लिमिटेड, बारा, हुलास स्टिल इन्डस्ट्रिज प्रालि बारा, शिवशक्ति घिउ उद्योग प्रालि, बारा, सुशील वनस्पति प्रालि, पर्सा, अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स, बारा र अशोक स्टिल इन्डष्ट्रिज प्रालि बारालाई १० लाखको दरले जरिवाना गरिएको छ ।

उद्योग विभागले मधेस प्रदेश सरकार मातहत पर्ने ६ वटा उद्योग तथा कलकारखानालाई आवश्यक कारबाही गर्नका लागि सिफारिस गरेको जनाएको छ । यसअघि वातावरण विभागको प्राविधिक सहितको अनुगमन टोलीले बारा र पर्साका २१ उद्योगको स्थलगत निरीक्षण गरी फोहर पानीको नमूना संकलन गरेको थियो । नमूना संकलन गरेकामध्ये १२ वटा उद्योग कलकारखानाबाट निस्कने पानी प्रदूषित भेटिएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो ।

सिर्सिया नदी वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योगबाट वर्षौँदेखि रसायनयुक्त फोहर पानी मिसिँदै आएपछि अत्यधिक प्रदूषित हुँदै आइरहेको छ ।

मन्त्री यादवले उद्योगबाट निस्कने फोहरमैलाले नदीलाई प्रदूषित गराएको खण्डमा आवश्यक निरीक्षण गरेर जरिवाना गर्नका लागि निर्देशन दिएकी थिइन् ।