उद्योग क्षेत्रको लोडसेडिङ बैसाखबाट पूर्ण रुपमा हट्छः मन्त्री पुन


काठमाडौं- उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले उद्योग क्षेत्रमा हुने लोडसेडिङ बैसाखबाट अन्त्य गर्ने बताएका छन् । उनले उद्योगमा आत्मनिर्भर रहेर आयातलाई प्रतिस्थापन गर्न उद्योग क्षेत्रको महत्वपुर्ण भूमिका हुने बताउँदै यस क्षेत्रमा भएको उर्जा समस्या अन्त्य गर्ने बताएका हुन् ।

मंगलबार उर्जामन्त्री पुनलाई बधाइ तथा ज्ञापनपत्र बुझाउन सिंहदरबार पुगेका नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका पदाधिकारीलाई उर्जामन्त्री पुनले औद्योगीकरणले आर्थिक बृद्धि हुने भएकाले उद्योग क्षेत्रको विकाशमा आफ्नो पूर्ण समर्थन र सहयोग हुने प्रतिवद्दता व्यक्त गरे ।
मन्त्री पुनले भने, ‘उद्योग क्षेत्रमा रहेको लोडसेडिङलाई बैसाख मसान्तबाट अन्त्य गर्छौ, उद्योग क्षेत्रमा सरकारको पूर्ण साथ र समर्थन छ । ’
उनले उर्जामा नेपाल आत्मनिर्भर हुन सके त्यसले व्यापार घाटा कम गर्ने र आयातलाई प्रतिस्थापन गर्दै निर्यात बढाउन सक्षम हुने बताए । त्यसको लागि सरकारले उर्जा क्षेत्रलाई प्राथमिकतामा रहेर काम गर्ने र राष्ट्रको दीर्घकालिन हितलाई ध्यान दिएर अगाडि बढ्ने बताए ।

उद्योग क्षेत्रको विकाश भए मात्र राष्ट्रको पूँजी निर्माण हुने र त्यसमा नीजि क्षेत्रलाई पनि प्रोत्साहन गरिने मन्त्री पुनले जानकारी दिए । संगठनका पदाधिकारीले उर्जामन्त्री पुनलाई उद्योग क्षेत्रमा विषेश ध्यान दिन र यसको समस्या कम गर्न ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement