भारतीय मुलका ऋषि सुनाक बेलायतको प्रधानमन्त्री बन्ने पक्का


काठमाण्डु – बेलायतमा भारतीय मुलका ऋषि सुनाक प्रधानमन्त्री बन्ने भएका छन् । सुनाक कन्जरभेटिभ पार्टीको संसदीय दलको नेता चयन भएसंगै उनको प्रधानमन्त्री बन्ने निश्चित भएको हो । कन्जरभेटिभ पार्टीबाट सांसद पेनी मोर्डन्ट समेत दलको नेताको प्रतिस्पर्धामा थिईन् । तर, उनले अन्तिम समयसम्म पनि आवश्यक एक सय सांसदको समर्थन जुटाउन नसकेपछि सुनाकको लागि बाटो खुलेको हो ।

प्रधानमन्त्री लिज ट्रसले प्रधानमन्त्री नियुक्त भएको ४५ दिनमा नै पदबाट राजीनामा दिएपछि उनी प्रधानमन्त्री बन्ने अपेक्षा गरिएको थियो । सुनाक यसअघि ट्रससंग नै दल नेतामा पराजित भएका थिए ।

ट्रसले राजीनामा दिएसंगै बोरिस जोनसन र जेरेमी हन्ट प्रधानमन्त्री बन्न सक्ने समाचार समेत बाहिर आएको थियो । तर, दुवै प्रधानमन्त्रीको दौडमा सहभागी भएनन् । अन्तिममा पेनीले समेत दाबी फिर्ता लिएपछि उनलाई सहज भएको हो ।

सुनाकको विजयसंगै बेलायतमा पहिलो एसियाली मूलका प्रधानमन्त्री बन्ने भएका छन् । उनको प्रधानमन्त्री हुने कुरालाई अमेरिकी तत्कालिन राष्ट्रपति बाराक ओबामासंग तुलना गरिएको छ ।

सुनाक यसअघि वित्तमन्त्री थिए । उनले वित्तमन्त्रीका रुपमा राम्रो काम गरेको बताइन्छ । सुनाक औपचारिक रुपमा भने आइतबार प्रधानमन्त्री नियुक्त हुनेछन् ।

सुनाक २०१५ मा रिचमन्डबाट ३५ वर्षकै उमेरमा सांसद निर्वाचित भएका थिए । सांसद निर्वाचित भएको ७ वर्षपछि प्रधानमन्त्री बन्न लागेका सुनाक भारतीय उद्योगपति एनआर नारायण मूर्तिका ज्वाइं हुन् । उनका हजुरबुवा पूर्वी अफ्रिका हुंदै बेलायत आएका हुन् ।

सुनाक १९८० मा बेलायतको साउथह्याम्पटनमा जन्मिएका हुन् । उनका बुबा यशवीर सुनक डाक्टर हुन भने आमा उषा सुनक फार्मासिस्ट हुन् । उनकी पत्नी अक्षता मूर्ति भने बेलायतकै धनी महिलामध्ये पर्छिन् ।

सुनकले विनचेष्टर कलेज, अक्सफोर्ड र स्टेनफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका थिए । राजनीतिमा आउनुअघि उनले बैंकमा काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement