लण्डन – बेलायतको नयाँ प्रधानमन्त्रीमा एन्डी बर्नहम नियुक्त भएका छन् ।
गत शुक्रवार लेवर पार्टीको नेता बनेका ५६ वर्षीय बर्नम आफ्नै दलका सर किअर स्टार्मरलाई विस्थापित गर्दै सोमबार बेलायतको ५९औँ प्रधानमन्त्री बनेका छन् ।
बकिङ्गम दरबारले नियुक्तिको पुष्टि गर्दै राजा चार्ल्सले उनलाई नयाँ सरकार बनाउन आह्वान गरेको जनाएको छ । दरबारको विज्ञप्तिमा राजाको आह्वान बर्नहमले स्वीकार गरेको जनाइएको छ ।
उनी ५ वर्षभित्रै बेलायतको प्रधानमन्त्री बन्ने चौथो व्यक्ति हुन् । यसअघि २२ जुनमा सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गरेका स्टार्मरले सोमबार राजा चार्ल्सलाई बकिङ्गम दरबारमा भेट्दै औपचारिक रूपमा राजीनामा पत्र बुझाएका थिए ।
त्यसअघि डाउनिङ स्ट्रीटमा सम्बोधन गर्दै २ वर्षअघिभन्दा देश ‘बलियो’ बनेको बताएका थिए । उनले नयाँ प्रधानमन्त्रीलाई आफ्नो पूर्ण साथ हुने बताए ।
सम्बोधनका क्रममा उनले प्रधानमन्त्रीको रूपमा आफ्नो कार्यकालमा अर्थतन्त्र बलियो भएको, सार्वजनिक सेवाहरूमा सुधार आएको, बालबालिकाहरू गरिबीबाट मुक्त भएका, आप्रवासन घटेको र देशको अन्तर्राष्ट्रिय प्रतिष्ठा निकै बढेको बताए ।
लेबर पार्टी संयुक्त अधिराज्य (बेलायत) को तल्लो सदन ‘हाउस अफ कमन्स’मा बहुमतप्राप्त दल हो । दलको नेताका रूपमा बर्नहम प्रधानमन्त्री नियुक्त भएका हुन् ।
प्रधानमन्त्री बनेपछि उनले संसदीय निर्वाचनको घोषणा गर्न सक्नेछन् तर अहिलेसम्म उनले ताजा चुनावको विकल्प रोज्ने संकेत देखाएका छैनन् । बेलायतमा नियमित तालिका अनुसार सन् २०२९ को अगस्ट १५ मा आवधिक निर्वाचन हुनेछ ।
बर्नहमले आफ्नो नेतृत्वमा लेबर प्रशासन अझै वामपन्थी झुकावतर्फ ढल्किने र सर्वसाधारण मानिसको जीवनस्तर सुधारमा केन्द्रित हुने वाचा गरेका छन् ।
उनी विगतमा सन् २०१० र सन् २०१५ मा गरेर २ पटक पार्टी नेतृत्वको प्रतिस्पर्धामा विफल भएका थिए । ग्रेटर म्यान्चेस्टरका पूर्वनगर प्रमुख बर्नहम गत जुन महिनामा मात्रै उपनिर्वाचन जितेर सांसद बनेका हुन् ।
बकिङ्गम दरबारबाट निस्किएर डाउनिङ स्ट्रीटमा बोलेका बर्नहमले आफू १० वर्षमा देशको सातौँ प्रधानमन्त्री बनिरहेको यथार्थको हेक्का रहेको बताउँदै अब ‘एउटा समीक्षा र नयाँ संकल्पको समय’ भएको बताए ।
उनले बेलायतले विश्वलाई उसले स्थायित्व प्राप्त गर्न सक्ने कुरा देखाउनु आवश्यक रहेको बताए । उनले आफ्नो चुनौती भनेको नयाँ राजनीतिक र आर्थिक मोडल निर्माण गर्नु र देशको हरेक क्षेत्रलाई ऊर्जावान् बनाउनु रहेकोप्रति पनि जोड दिए ।
‘म तपाईँहरूलाई सुन्छु । हामीले पर्याप्त रूपमा राम्रो गरेका छैनौँ र हामी अझ राम्रो हुन आवश्यक छ । हामी हुनेछौँ,’ उनले थपे । (रासस/एएफपी)




प्रतिक्रिया