एमालेले भोलि बसन्तपुरमा बृहत् सभा गर्ने


इटहरी – नेकपा एमालेको मध्यपहाडी लोकमार्ग समृद्धिका लागि संकल्प यात्राका क्रममा भोलि बिहीबार तेह्रथुमको बसन्तपुरमा बृहत् सभा हुने भएको छ ।

एमाले कोशी प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण तिवारीले बसन्तपुरमा १५ हजार बढीको सहभागिता हुने गरी तयारी गरिएको जानकारी दिए । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

सभामा सुनसरी, मोरङ, तेह्रथुम, धनकुटा र संखुवासभाबाट सहभागिता रहने छ । सुनसरी, मोरङबाट मात्र ६० वटा बस, ६० वटा कारजीप र ३०० बढी मोटरसाइकलमा सहभागी हुने नेता तिवारीले बताए । आजैदेखि सहभागीहरू बसन्तपुर जान थालेका छन् । भोलि दिउँसो साढे १२ बजे बसन्तपुरमा सभा सुरु हुनेछ ।

बसन्तपुरमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लिम्बू संस्कृतिअनुसार स्वागत गरिने छ । बसन्तपुर बजारमा हुने आमसभामा ५०१ जना स्वयंसेवक खटिनेछन् । सभाअघि विभिन्न जातजाति भाषाभाषीको झाँकीसहित जुलुस निकालिने कार्यक्रम मूल आयोजक समितिका सहसंयोजक समेत रहेका नेता तिवारीले जानकारी दिए ।

आमसभाअघि चोलुङ्गपार्क र ऐतिहासिक संग्राहलय निरीक्षणको कार्यक्रम छ । बसन्तपुर मध्यपहाडी लोकमार्गमा पर्ने शहर हो । लोकमार्गमा रहेका १० शहरमा सञ्चालित नयाँ शहर आयोजना बसन्तपुरमा पनि सञ्चालित छ । बसन्तपुर गुराँसको राजधानी तीनजुरे मिल्के जलजलेको प्रवेशद्वार रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement