काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीले ७५१ मागहरू, समस्या, समस्या समाधानका उपायसहितसहितको ध्यानाकर्षण पत्र बुझाएको हो ।
आफूहरुले ४६ वटा क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग तथा सुझावहरु बुझाएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । पार्टीका स्थानीय कमिटी, विभिन्न राजनीतिक दल, उद्योगी-व्यवसायी, पालिकाहरू, स्थानीयवासी र सरोकारवालाले पेस गरेको पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक तथा आर्थिक विकासका विविध पक्ष समेटेर एमालेले प्रधानमन्त्रीलाई जनताको नासोका रूपमा कार्यान्वयन गर्न लिखित जानकारी गराएको उनको भनाइ छ।
प्रधानमन्त्रीले प्राप्त मागहरू कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । एमालेले मङ्सिर १४ बाट पुस १ गतेसम्म बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङ्गसम्म विज्ञ समूहसहित पदयात्रा गरेको थियो ।
प्रतिक्रिया