‘नेकपा एसलाई सिध्याउन गठबन्धनमा एमालेले राखेको सहकार्यको प्रस्ताव असफल’


काठमाण्डु- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनका क्रममा भएको भोट क्रसको विषय सत्ता गठबन्धनभित्र छलफलको विषय बनेको बताएका छन् ।

आइतवारबाट सुरु भएको पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भोट क्रसकै कारण कोशी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार पराजित भएर एमालेका उम्मेदवार निर्वाचित भएको भन्दै यो विषय सबै दलका लागि छलफलको विषय भएको बताएका हुन् ।

त्यस्तै उनले राष्ट्रियसभाको निर्वाचन उपयोग गरेर गठबन्धनमा उलटफेर ल्याउने एमालेको प्रयास असफल भएको दाबी गरेका छन् । आफ्नो पार्टीलाई सिध्याउने उद्देश्यले गठबन्धन दलमा एमालेले सहकार्यको प्रस्ताव गरेको उनको आरोप छ ।

‘कोशीमा गठबन्धनका भोट क्रस भएर कोशीमा एमालेको उम्मेदवारले जित्न सफल भएको छ। एमाले गठबन्धनमा रहेका दलहरुसँग सहकार्य गर्ने र गठबन्धनलाई कमजोर बनाउने नीति लिएको छ। राष्ट्रियसभाको निर्वाचनमा गठबन्धन दलसँग छलफल गरेपनि त्यो सबै हाम्रो पार्टीप्रति लक्षित थियो। त्यस अर्थमा पनि त्यो सहमति सफल हुन सकेन।’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement