एमालेका जनसंगठनहरूको महिला राष्ट्रिय भेला हुने, पूर्व राष्ट्रपति भण्डारी प्रमुख अतिथि


काठमाण्डु – नेकपा एमालेका जनसंगठनहरूको महिला राष्ट्रिय भेला आयोजना हुने भएको छ ।

एमाले केन्द्रीय कार्यालयमा आज बुधबार बसेको जनसंगठन समन्वय संयन्त्रको बैठकले आगामी जेठ १६ र १७ गते जनसंगठनहरूको राष्ट्रिय महिला भेला आयोजना गर्ने निर्णय गरेको संयोजक भानुभक्त ढकालले जानकारी दिए ।

समग्र महिला आन्दोलनको इतिहास, नेतृत्व र उपलब्धिलाई स्मरणसहित स्थापित गराउन २३ वटै जनसंगठनहरूको महिला राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरिएको छ । भेलाको प्रमुख अतिथि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई बनाउने निर्णय गरिएको ढकालले जानकारी दिए ।

उनका अनुसार प्रमुख अतिथि भण्डारीले उद्घाटन र अध्यक्ष केपी शर्मा ओलीले समापन गर्ने गरी राष्ट्रिय महिला भेलाको कार्यक्रम तय गरिएको छ । ‘नेपाली महिला आन्दोलनको नेता र पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीलाई उहाँले नेपालको प्रजातान्त्रिक तथा महिला आन्दोलनमा पुर्‍याउनुभएको योगदानका कारण प्रमुख अतिथि बनाउने निर्णय गरेका छौं, त्यसैअनुसार उहाँलाई कार्यक्रमको उद्घाटनका लागि निमन्त्रणा गर्ने निर्णय गरिएको छ,’ संयोजक ढकालले भने ।

पूर्व राष्ट्रपति भण्डारी राष्ट्रपतिमा निर्वाचित हुनुअघि अनेम संघको अध्यक्ष र नेकपा एमालेमा उपाध्यक्षको भूमिकामा रहेका थिए । उनकै नेतृत्वमा संसद्मा संकल्प प्रस्ताव दर्ता भई राज्यका हरेक जननिर्वाचित निकायमा ३३ प्रतिशत महिलाको सहभागिता अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको थियो । प्रस्ताव २०६३ जेठ १६ गते बसेको संसद्को बैठकबाट पारित भएको थियो ।

पूर्व राष्ट्रपति भण्डारीको योगदानको उच्च कदर गर्दै जनसंगठनको महिला राष्ट्रिय भेलाको प्रमुख अतिथि बनाउने निर्णय जनसंगठन समन्वय संयन्त्रको बैठकले गरेको संयोजक ढकालले जानकारी दिए । भेलामा उठेका विषयलाई समापनको अवसरमा अध्यक्ष ओलीले स्पष्ट पार्ने उनले बताए ।

बैठकले राष्ट्रिय महिला भेलाको व्यवस्थापनका लागि अनेमसंघका अध्यक्ष टुका हमालको संयोजकत्वमा ११ सदस्यीय व्यवस्थापन कमिटी गठन गरेको छ ।

समितिको सचिवमा एमाले केन्द्रीय सदस्य तथा बागमती प्रदेश जनसंगठन संयोजक रचना खड्का रहेका छन् । नेपाल बुद्धिजीवि परिषद्का इन्चार्ज विद्या भट्टराईसहित पेम्बा लामा, जमुना वर्षा शर्मा, सरिता भुसाल, सीता लामा, मन्दिरा श्रेष्ठ, भवानी बजगाई, नन्दा बस्याल र शारदा खनाल सदस्य रहेका छन् ।

राष्ट्रिय महिला भेलामा सबै जनसंगठनमा रहेका महिला पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र जिल्ला तहसम्मका महिला विभाग प्रमुखलाई सहभागी गराउने मापदण्ड तय गरिएको छ । अनेम संघको हकमा महिला विभाग प्रमुख हटाएर जिल्ला अध्यक्षसम्म मात्रै सहभागी गराउने मापदण्ड पारित गरेको संयोजक ढकालले बताए ।

भेलामा जनसंगठनमा आवद्ध रहेका निर्वाचित महिला जनप्रतिनिधिहरूलाई पनि सहभागी गराउने निर्णय गरेको छ । एमाले जनसंगठनको केन्द्रीय कमिटीमा ७६ जना पदाधिकारी छन् ।

बैठकले पार्टीको महाधिवेशन प्रतिनिधि परिषद्को पहिलो बैठकका लागि आवश्यक सबै तयारीका काममा सघाउने निर्णय गरेको छ । एमालेले वैशाख ८ र ९ गते ललितपुरको गोदावरीस्थित सनराइज हलमा महाधिवेन प्रतिनिधि परिषद्को पहिलो बैठक आयोजना गरेको छ ।

बैठकपछि जेठ १० गते पार्टी स्थापना दिवसको अवसरमा गोदावरीमै विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा एमालेले सबै दलका प्रमुख नेतालाई वक्ताका रूपमा बोलाउने निर्णय गरिसकेको छ । कार्यक्रममा आफ्नो संगठनको तर्फबाट विशेष रूपमा उपस्थिति गराउन बैठकले सबै जनसंगठनलाई निर्देशन दिएको छ ।

बैठकले जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा जेठ र असार महिनाभर विशेष कार्यक्रमको आयोजना गरी मनाउन सबै जनसंगठनहरूलाई निर्देशन दिएको एमाले केन्द्रीय सदस्य तथा बागमती जनसंगठन संयोजक रचना खड्काले जानकारी दिइन् ।

अघिल्ला वर्षहरूमा पनि जेठ र असार महिनाभर सबै जनसंगठनहरूले विशेष कार्यक्रमको आयोजना गरी मनाउँदै आएका थिए । विगतका जसरी नै यस वर्ष पनि विशेष कार्यक्रम गर्न निर्देशन दिइएको खड्काले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement