एमाले परिषद् बैठकमा २ हजार ४५४ प्रतिनिधि सहभागी हुने


काठमाण्डु – नेकपा एमाले प्रतिनिधि परिषद् बैठकमा २ हजार ४ सय ५४ प्रतिनिधि सहभागी हुने भएका छन् ।

शुक्रबार काठमाण्डुमा पत्रकार सम्मेलन गरेर प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले शनिबारदेखि हुन लागेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यहरू २००३ जना, केन्द्रीय कमिटी, केन्द्रीय निकायमा मनोनयन गरिएका परिषद् सदस्य बाहेकका ३८१ जना आयोजक गरी २ हजार ४५४ जना सहभागी हुने जानकारी दिए ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने उनले बताए ।

बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का तर्फबाट प्रतिवेदनहरू प्रस्तुत हुने जनाइएको छ ।

उनले भने, ‘यसले हरेक राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी र निकायहरूका समग्र कामको समीक्षा र आवश्यक निर्देशन दिने भएकाले यो परिषद् बैठकको ऐतिहासिक महत्व रहेको छ । विधानको धारा १५ बमोजिम विधान महाधिवेशनको हैसियतमा बाहेक राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक दुई राष्ट्रिय महाधिवेशनको बीचमा आवश्यकता अनुसार आयोजना गरिने वैधानिक व्यवस्था अनुसार परिषद्को बैठक हुन लागेको हो ।’

बैठकमा २०८१ साललाई पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रूपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्ययोजना प्रस्तुत गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement