एमाले परराष्ट्र मामिला विभागको नियमित मासिक प्रस्तुति सम्पन्न


काठमाण्डु- नेकपा (एमाले) परराष्ट्र मामिला विभागले नियमित रूपमा सञ्चालन गर्दै आएको विश्व राजनीतिका विभिन्न पक्ष विषयको समसामयिक मासिक प्रस्तुतिको पछिल्लो श्रृङ्खला सम्पन्न भएको छ ।

बुधवार पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा भएको कार्यक्रममा यसपटक दक्षिण एसियाली मुलुकमा भएका निर्वाचन, निर्वाचन सिर्जित परिस्थिति र नेपालमा त्यसका प्रभाव लगायतका विषयमा दुई विज्ञ सदस्यहरूले आ–आफ्ना अध्ययन र विश्लेषण प्रस्तुत गरेका हुन् ।

कार्यक्रममा पूर्व राजदूत उदयराज पाण्डेले छिमेकी मित्रराष्ट्र भारतको जारी निर्वाचनका सम्बन्धमा आफ्नो अनुभव प्रस्तुत गरेका थिए । उनी हालै भारतका विभिन्न राज्यको भ्रमण गरी फर्किएका हुन् ।

त्यसैगरी विभाग सदस्य तथा दक्षिण एसिया डेस्क हेर्ने दीपेन्द्र श्रेष्ठले पाकिस्तान, बंगलादेश र माल्दिभ्समा सम्पन्न निर्वाचन, त्यसपछिका ती देशको राजनीतिक परिस्थिति, त्यसले नेपाल र दक्षिण एसियाली राष्ट्रको साझा फोरम ‘सार्क’लाई सुचारु बनाउने प्रयासमा हुनसक्ने विलम्ब लगायत विषयमा आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए।

कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा विभाग प्रमुख डाक्टर राजन भट्टराई, स्थायी कमिटी सदस्य रघुजी पन्त लगायत पार्टीका केन्द्रीय सदस्य, विभिन्न विभागका प्रमुख, सचिव र परराष्ट्र मामिला विभागका सदस्यहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement