भीम रावलका गतिविधिप्रति एमालेको आपत्ति

भीम रावलका गतिविधिप्रति एमालेको आपत्ति


धनगढी – पार्टीले निष्कासन गरेपछि छुट्टै अभियान चलाइरहेका पूर्वउपप्रधानमन्त्री भीम रावलका गतिविधिप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।

अभियानका क्रममा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्व गलत र भ्रमपूर्ण नारा लगाएको भन्दै एमाले सुदूरपश्चिम प्रदेश कमिटीले घोर निन्दा गरेको छ ।

 प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश कमिटीले मातृभूमि जागरण अभियानका नाममा धनगढी विमानस्थल र अछामको साफेबगरको छिपेखोला बजार लगायतका ठाउँमा कार्यक्रम आयोजना गरी प्रधानमन्त्रीविरुद्व गलत र भ्रामक नारा लगाइएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मातृभूमि जागरण अभियान नामको समूहले कैलालीको धनगढी एयरपोर्ट र अछामको साँफेबगर नगरपालिकाको छिपेखोला बजार लगायतका विभिन्न क्षेत्रमा कार्यक्रम गर्ने नाममा हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष तथा नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लगाइएका गलत र भ्रामक नारा र गरिएका अभिव्यक्तिका विषयहरू सञ्चारमाध्यममार्फत जानकारी भएकाले सुदूरपश्चिम प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

प्रदेश सचिव रणबहादुर चन्दले जारी गरको विज्ञप्तिमा उल्लेख छ, ‘त्यसरी नै हामो पार्टीमा प्रतिबद्ध कार्यकर्ताहरूको नाम अभियानमा सघाएको भन्दै कपोकल्पित तथा भ्रामक प्रचार गरि राजनीतिक बेइमानी गर्ने जस्ता अराजक, उछृंखल क्रियाकलाप र असभ्य अभिव्यक्तिले लोकतान्त्रिक सभ्य संस्कृतिलाई निष्तेज गर्ने र नागरिक समाज लगायत दलका कार्यकर्ताहरूलाई झन् अराकतातिर लगेर प्रतिक्रियावादीहरूलाई सघाउने गर्दछ ।’

अराजक गतिविधिबाट भ्रममा नपर्न र घट्न सक्ने घटनाबारे समयमै सतर्कता अपनाउन सम्पूर्ण पार्टी पंक्ति र सम्बद्ध सबैलाई एमालेले अपिल गरेको छ ।