महाधिवेशन नआउँदै एमालेमा कित्ताकाट ! मिसन ८४ के होला ?

महाधिवेशन नआउँदै एमालेमा कित्ताकाट ! मिसन ८४ के होला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालको प्रमुख कम्युनिष्ट घटक नेकपा एमालेको १०औं महाधिवेशन २०७८ मंसिरमा भयो । सामान्यतया ५ वर्षमा हुने महाधिवेशन अब ११औं महाधिवेशन २०८३ सालमा हुनेछ ।

महाधिवेशन आउन लगभग डेढ वर्ष बाँकी छँदै एमालेमा नेतृत्वको विषय चर्चामा आउन थालेको छ । नेकपा एमालेकी पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक गतिविधि बढाउँदा कतिपयले उनैलाई एमाले अध्यक्षको उम्मेदवारका रूपमा अगाडि सारिरहेका छन् भने अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ७० वर्षे उमेरहद अंक मात्रै भएकाले आफू नै अध्यक्षमा तेहेरिने संकेत गरिरहेका छन् ।

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी दुवैका नाममा कित्ताकाट हुन कार्यकर्ता पक्ति तम्तयार देखिएको छ । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देखिएका बहस र टिप्पणीले एमाले पंक्ति ओली र भण्डारीको नाममा कित्ताकाट हुन लागेको देखिन्छ ।

एमालेले आगामी भदौ २०–२२ गतेसम्म विधान महाधिवेशन गर्दैछ । विधान महाधिवेशनले विधान संशोधनदेखि केही अस्पष्ट विषयमा निर्णय लिनेछ । जस्तैः ७० वर्षे उमेरहद । एमालेको विधानअनुसार ७० वर्ष उमेर पूरा भएको व्यक्ति पार्टीको कार्यकारी भूमिकामा निर्वाचित हुन पाउँदैन । तर एमालेको केन्द्रीय कमिटीले विशेष परिस्थिति भन्दै उमेरहदको व्यवस्थालाई निलम्बन गरेको छ । आगामी विधान महाधिवेशनले यसबारे स्पष्ट निर्णय लिनेछ ।

के चाहन्छन् ओली ?

राज्यसत्ता सम्हालिरहेका प्रधानमन्त्री ओलीले पार्टी सत्तामा पुनः कायमै रहने मनसाय प्रकट गरेका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै ओलीले भने, ‘७० वर्ष उमेरका कुरा आयो । ७० वर्षे उमेरहदको विषय फेल खाइसक्यो । अहिले म ७४ चल्दैछु, ७० मा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन ? ४ वर्ष घटाउन भएन क्यारे उमेर !’

ओली पार्टी अध्यक्ष निर्वाचित हुँदा ७० वर्ष पुगेका थिएनन् । तर उनी अब पुनः अध्यक्ष बन्न मिल्ने गरी तर्क गरिरहेका छन् । उनले अगाडि भने, ‘स्वास्थ्यले साथ दिन्छ/दिँदैन, कार्यक्षमता हुन्छ कि हुँदैन मुख्य कुरा हो । चीनमा २ पटक मात्रै अध्यक्ष हुन पाउने नियम बनाइएको थियो । ६५ वर्षे उमेर हद लगाए पनि सी चिनफिङको नेतृत्वको आवश्यकता देखेपछि चिनियाँ कम्युनिस्ट पार्टीले ल्यायो । अहिले ७२ पुगिसक्नुभयो सी चिनफिङ ।’

प्रधानमन्त्री ओलीले आवश्यकता देखिए उमेर र कार्यकालका कारण अध्यक्ष हुन नपाइने भन्न नहुने तर्क गरे । तर अनेरास्ववियुको महाधिवेशनमै उमेर हद लगाएर सबैजसो पुराना विद्यार्थी नेतालाई संगठनबाट बिदा गरिएको छ ।

उमेर हदकै कारण अध्यक्षबाट ओली बिदा हुने देखेपछि पार्टीभित्र नयाँ अध्यक्षका लागि पूर्वराष्ट्रपति भण्डारीको चर्चा भइरहेका बेला ओलीले भने, ‘तल–तल ग्रूप बनेको सुनिरहेको छु । यो ग्रूप र त्यो ग्रूप एमालेमा आवश्यक छैन । अहिले एमालेभित्र अर्को खेल हुन खोजेको छ । फलाना आउने रे, फलाना आउने रे, को महासचिव, को उपाध्यक्ष, को कोषाध्यक्ष बन्ने रे ! बाहिर–बाहिर हल्ला चलाएर पार्टीलाई कमजोर र कार्यकर्ताको मनस्थिति कमजोर पार्न खोजिएको छ ।’

अध्यक्ष ओलीले पुनः अध्यक्ष बन्न खोजे पनि पार्टी पदाधिकारीभित्रैबाट ७० वर्षे उमेरहद र लगातार २ कार्यकालपछि अध्यक्ष बन्न नपाइने प्रावधान कायमै राख्नुपर्ने जबरदस्त मत प्रकट भएको छ ।

हिमालय टेलिभिजनको यक्ष प्रश्नमा पत्रकार राजेन्द्र बानियाँको कुराकानीमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ७० वर्षे उमेर सीमा मात्र नभई लगातार २ कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्नु नहुने पक्षमा रहेको बताए । उनले भने, ‘हाम्रो पार्टीको विगतको महाधिवेशनले नेतृत्वको बारेमा दुइटा कुरा गरेको छ – एउटा उमेरको सीमा तय गरेको छ, ७० वर्ष । अर्को, कार्यकारी पदमा लगातार २ पटकभन्दा बेसी नहुने, डिस्कन्टिन्यु हुनुपर्छ भन्ने प्रावधान राखेको छ । एकीकृत समाजवादीमा गएका साथीहरू, कतिपय पुराना पार्टीमा रहनुभएको साथीहरू आउने स्थितिमा उमेरको सीमाले समस्यामा पार्ने भएको हुनाले केही समयका लागि खुला गर्‍यौं । साथीहरू आउनुभयो । केन्द्रीय कमिटीमा, स्थायी कमिटीमा रहनुभएको छ । तर यसको अर्थ, जुन महाधिवेशनले व्यवस्था गरेको थियो, त्यो व्यवस्था केही समयका लागि अन्तरिम व्यवस्थापन गरेको हो । लगातार दुईटा कार्यकारी पदमा बसेकाले २ कार्यकालपछि निरन्तरता पाउनु हुँदैन भनेर हामीले लामो छलफल गरेर तय गरेको विषय थियो । त्यसलाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा छु म । मैले सोलोडोलो कुरा गरेको होइन, मैले को कहाँ पर्छ भन्ने कुरा गरेको होइन । कुन मान्यताको आधारमा हामीले व्यवस्था गर्‍यौं, त्यो मान्यताप्रति अडिनुपर्छ भनेको हो ।’

यसरी वरिष्ठ उपाध्यक्ष पोखरेलको तर्क विधानमा व्यक्त भएमा अध्यक्ष ओली पुनः अध्यक्ष बन्न पाउँदैनन् । किनकि उनलाई ७० वर्ष पुगिसकेको छ र लगातार २ कार्यकाल पार्टी अध्यक्ष बनिसकेका छन् । यसै माहोलमा पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टीमा सक्रियता बढाएकी छन् ।

पूर्वराष्ट्रपति भण्डारीको सक्रियताको अर्थ

पछिल्लो समय पूर्वराष्ट्रपति भण्डारीले पूर्वी नेपालको कोशी प्रदेशमा सक्रियता बढाएकी छन् । उनी एकैजिल्लामा हप्तौंसम्म बसेर विभिन्न कार्यक्रममा सहभागी हुने र नेता–कार्यकर्ता भेटघाट गरिरहेकी छन् । त्यसैले उनको सक्रियतालाई एमाले अध्यक्ष बन्ने तयारीको रूपमा हेरिएको छ । आफ्नो सक्रियतामाथि बहस हुन थालेपछि उनले प्रतिक्रिया समेत जनाएकी छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भनिन्, ‘एमाले मैले संगठित सदस्यता नलिँदैदेखि काम गरेको पार्टी हो, यसका कार्यक्रमहरूमा सहभागी हुन कसैसँग अनुमति लिनुपर्ने आवश्यकता छैन । म राष्ट्रपति हुनु पहिले, संगठित सदस्यता लिनु पहिले नै पार्टीमा काम गरेर आएकी हुँ । मेरो चिनजान ठूलै छ । पार्टीमा त्यसरी परिचित भएको नेताले कार्यक्रमहरूमा मलाई बोलाउनु स्वाभाविकै हो । मैले पनि समाजसँग साक्षात्कार गर्दै गर्नुपर्छ, भेटघाट गर्दै गर्नुपर्छ, जनताको विचार बुझ्नुपर्छ । नयाँ पुस्ताका आकांक्षा जान्नुपर्छ । नयाँ पुस्ताको आकांक्षा पूरा गर्न, राष्ट्रिय आकांक्षा साकार बनाउन लाग्नु हाम्रो कर्तव्य हो ।’

उनले अगाडि भनिन्, ‘हामीले देशका लागि, नयाँ पुस्ताका लागि देशका लागि काम गर्नुपर्छ । त्यस हिसाबले देशभित्र घुमफिर गर्न मैले एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनुपर्छ भन्ने लाग्दैन । अध्यक्ष ओलीजीले मलाई नै तोकेर भन्नुभयो होला भन्ने लाग्दैन । म कहिले गुट नबनाएको मान्छे, त्यसो भन्न मिल्दैन । उहाँले पनि त्यस्तो भन्नुभएको होइन होला । तपाईंहरूले त्यस्तो अर्थ लगाउनुभयो कि ? अरू आकांक्षीको मनमा प्रश्न उठेको होला । जहाँ जसरी हुन्छ काम गर्ने हो । ओलीजीले महाधिवेशन आएपछि नेतृत्व निर्माण हुन्छ, मिलाएर गर्छौं भनेर आश्वस्त गर्नुभएको हुनसक्छ ।’

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रमन्त्री भण्डारी मात्रै होइन, मातहत नेता–कार्यकर्ता समेत पक्ष–विपक्षमा टिप्पणीमा उत्रिन थालेका छन् । जसले पार्टीपंक्तिलाई कित्ताकाट गर्दैछ ।

जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले असार १४ गते विशेष कार्यक्रम गर्दैछ । जसमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहनेछन् । कार्यक्रममा सहभागी भई पूर्वराष्ट्रपति भण्डारीले विशेष घोषणा गर्नसक्ने उनीनिकट स्रोतले जनाएको छ ।

पूर्वराष्ट्रपति भण्डारीको सक्रियताले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको पार्टीपंक्ति समेत हौसिएको चर्चा हुने गरेको छ । पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन माहोल बनाइदिन माओवादीले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई पार्टीको जिम्मेवारीमा ल्याएको तर्क पनि गरिन्छ । संसदीय राजनीतिमा अस्तित्वको संकटमा पुगेका माओवादी र एकीकृत समाजवादी पूर्वराष्ट्रपति भण्डारीको नेतृत्वमा एमालेसँग एकतामा आउन चाहन्छन् । तर पूर्वराष्ट्रपति भण्डारीले भने एकतामा रुचि नदेखाएको स्रोतले जनाएको छ । स्रोतले भन्यो, ‘पूर्वराष्ट्रपति भण्डारीको रणनीति एमालेलाई नै बलियो बनाउने हो । माओवादी र एकीकृत समाजवादी उत्साहित भए पनि वामपन्थी एकतामा उहाँको रुचि छैन ।’

यसैबीच पार्टीको अवस्थाप्रति एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले आन्तरिक एकता नभए एमाले जिरोमा झर्न सक्ने बताए । नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले भने, ‘आन्तरिक एकता पैदा भएन भने जिरोमा पनि झर्न सक्छौं । हामी जबज र मिसन ८४ भन्छौं, हामीले त्यो धरातल तयार गरेका छौं कि छैनौं भन्ने हो । जबज भनेको हाम्रा प्रतिस्पर्धीलाई चुनावबाट परास्त गर्ने भनेको हो । तर हामी प्रलोभनमा पर्छाैं । कहिले रुखको, कहिले हँसियाहतौडाको, कहिले हलाको बन्छौं । तर बाहिर आउँदा फेरि एमालेकै बन्छौं ।’