एमालेले किन फिर्ता गर्दैछ मीनबहादुर गुरुङबाट उपहार लिएको १० रोपनी जग्गा ?

एमालेले किन फिर्ता गर्दैछ मीनबहादुर गुरुङबाट उपहार लिएको १० रोपनी जग्गा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले भाटभटेनी सुपर मार्केटका सञ्चालक व्यवसायी मिनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन भनेर लिएको जग्गा फिर्ता गर्ने भएको छ ।

एमाले सचिवालय बैठकमा गुरुङबाट उपहार स्वरूप लिइएको जमिन फिर्ता गर्नेसम्बन्धी प्रस्ताव प्रस्तुत भएको छ ।

गुरुङले ओली प्रधानमन्त्री रहेका बेला कलंकी खसी बजारनजिकै एमाले मुख्यालयका लागि करिब १० रोपनी जमिन दान गरेका थिए । जमिनमा १ वर्षभित्र आफ्नै लगानीमा सुविधा सम्पन्न कार्यालय भवन बनाएर हस्तान्तरण गर्ने घोषणा पनि उनले गरेका थिए । ओली र गुरुङ दम्पतीले २०८१ असोजमा सामूहिक रूपमा विधिवत पार्टी कार्यालय भवनको शिलान्यास समेत गरेका थिए ।

अब एमालेले मदननगर भन्दै आएको पुरानो कार्यालय रहेको स्थान बल्खुमै पार्टी कार्यालय बनाउने पनि प्रस्तावमा छ । २०७२ सालको महाभूकम्पमा बल्खुको कार्यालय भत्किएपछि केही समय एमालेले धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठानबाट कार्यालय सञ्चालन गरेको थियो । हाल एमाले मुख्यालय ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा छ । ३३औं मदन–आश्रित स्मृति दिवसका अवसरमा गत ३ जेठमा बल्खुमा आयोजित कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले पुरानै स्थानमा पार्टी कार्यालय बनाइने घोषणा गरेका थिए ।

‘कलंकीमा भवन निर्माणको प्रस्ताव गर्ने दाता (मीनबहादुर गुरुङ दम्पती) लाई धन्यवादसहित उहाँहरूको प्रस्ताव फिर्ता गर्ने र अब नयाँ कार्यालय भवन मदननगर बल्खुमै निर्माण गर्ने निर्णय गर्ने,’ सचिवालय बैठकको प्रस्तावमा भनिएको छ ।

‘स्वार्थको द्वन्द्व’ झल्किने गरी राज्यको अर्बौं कर छली गरेको आरोप खेपिरहेका व्यवसायी गुरुङबाट जग्गा दान लिएको भन्दै पार्टीभित्र र बाहिर चर्को विरोध भएको थियो । सोही विषयमा सार्वजनिक रूपमा नेतृत्वको आलोचना गरेर अनुशासन उल्लंघन गरेको आरोपमा एमालेले बिन्दा पाण्डे र उषाकिरण तिम्सिनामाथि ६ महिना निलम्बनको कारबाहीसमेत गरेको थियो ।

एमालेलाई जमिन दान दिएका गुरुङको भाटभटेनी सुपरमार्केट ५ चैत ०८१ मा दुर्गा प्रसाईं समूहद्वारा आयोजित तीनकुनेको हिंसात्मक प्रदर्शन र गत २३ र २४ भदौको जेनजी नवयुवाको आन्दोलनमा निशानामा परेको थियो । प्रसाईं समूहको आन्दोलनमा कोटेश्वरको भाटभेटेनीमा लुटपाट र तोडफोड भयो भने जेनजी आन्दनेलनका क्रममा अनामनगरबाहेक अधिकांश आउटलेटमा आगजनी भएको थियो ।