कर्णालीमा बजेटपछि नयाँ सरकार, मुख्यमन्त्रीमा यमलालको चर्चा


काठमाण्डु – नेकपा एमालेले कर्णाली प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया अघि बढाएको छ । प्रदेशसभामा स्पष्ट बहुमत रहेको एमालेले मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारलाई ढालेर नयाँ सरकार गठन गर्ने भएको हो ।

आजको बैठकमा नेपाल पक्षका चार जना सांसदलाई पनि बोलाइएको छ । तर, उनीहरुले प्रदेश सरकारले ल्याएका नीति तथा कार्यक्रम पारित नगरी बैठकमा नजाने निर्णय गरेका छन् ।

सरकार गठनबारे छलफल गर्न बोलाइएको एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक अझै बस्न सकेको छैन् । नेपाल समूहका सांसदले उपस्थित नहुने बताएपछि बैठक बस्न नसकेको संसदीय दलका नेता यमलाल कँडेलले जानकारी दिए ।

सर्वोच्च अदालतले माधव नेपाल समूहका चार जना सांसदलाई पुर्नवहाली गरेपछि प्रदेशसभामा एमालेको एकल बहुमत देखिएको हो ।

सोमबार बसेको प्रदेशसभाको बैठकमा सभामुख राजबहादुर शाहीले सर्वोच्च अदालतले पुर्नवहाली गरेको पत्र पढेर सुनाएका थिए ।

एमालेका सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा अदालतको आदेश अनुसार नेकपा एमाले प्रदेश संसदीय दलको सदस्यको हैसियतमा कायम रहने छन् ।

४० सदस्यीय प्रदेशसभामा नेकपा एमालेसँग सभामुखसहित २० जना सांसद रहेका छन् । यसैगरी, माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् । अहिले मुख्यमन्त्री शाहीलाई कांग्रेससहित १८ जना सांसदको मात्रै समर्थन रहेको छ ।

बजेटपछि नयाँ सरकार

मुख्यमन्त्री शाही नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित नगरी नयाँ सरकार गठन प्रक्रिया सम्भव नहुने भएको छ । नेपाल समूहका सांसदहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित हुने दाबी गर्दै आइरहेका छन् ।

नयाँ सरकार गठनका लागि एमाले निर्णायक भूमिकामा रहेको छ । बजेटको मुखमा सरकार फेरबदल गर्ने कुरा उचित नभएको नेपाल समूहका एक सांसदले बताए ।

‘सरकार बजेट ल्याउनुपर्ने चटारोमा छ । नीति तथा कार्यक्रम पारित भएपछि हामी दलको बैठकमा सहभागी हुन्छौं’, ती सांसदले भने ।

मुख्यमन्त्रीमा यमलालको चर्चा

मुख्यमन्त्री महेन्द्र बहादुर शाही अल्पमतमा परेपछि एमालेको नेतृत्वमा नयाँ सरकार गठन हुँदैछ । नेकपा एमालेले कर्णालीमा एकल रुपमा नयाँ सरकार गठन गर्ने तयारी सुरु गरेको हो ।

एमाले संसदीय दलका नेता तथा कर्णाली प्रदेशका इन्चार्ज यमलाल कँडेल मुख्यमन्त्री बन्ने सम्भावना रहेको स्रोतले जानकारी दियो । एमालेका एक जना सांसदकाअनुसार कँडेल संसदीय दलको नेता भएकाले पनि उनी नै मुख्यमन्त्री बन्ने सम्भावना रहेको छ ।

‘हामी हिजोबाट निरन्तर छलफलमा जुटेका छौं । आज पनि छलफल जारी छ । संसदीय दलको नेताको हैसियतले उहाँ (कँडेल) नै मुख्यमन्त्री बन्ने सम्भावना रहेको छ’, एमालेका एक प्रदेशसभा सदस्यले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement