सुदुरपश्चिम प्रदेशको अध्यक्ष भण्डारीलाई बनाउने एमालेको तयारी


काठमाण्डु – नेकपा एमालेले सुदुरपश्चिम प्रदेशको अध्यक्ष दामोदर भण्डारीलाई बनाउने भएको छ । एमालेको १० औं महाधिवेशनमा केन्द्रीय सदस्यमा नपरेका भण्डारीलाई एमाले नेतृत्वले सुदुरपश्चिमको अध्यक्ष बनाउने तयारी गरेको छ । चितवनमा सम्पन्न एमालेको महाधिवेशनमा उनको नाम केन्द्रीय सदस्यमा परेको थिएन ।

यसअघि एक पटक केन्द्रीय सदस्य जितेका र एक पटक थोरै मतले पराजित भएका भण्डारी सुदुरपश्चिममा एमालेका प्रभावशाली नेतामध्ये एक हुन । उनी हाल वैतडीबाट प्रतिनिधिसभाका सदस्य समेत छन् । भण्डारीले बैतडीमा एमालेको नेतृत्व सम्हालेको १० बर्षभन्दा बढी समेत भइसकेको छ ।

भण्डारी यसअघि अर्थराज्यमन्त्री समेत बनेका थिए । उनलाई आगामी प्रदेश अधिवेशनबाट सर्वसम्मत अध्यक्ष बनाउने तयारी छ । त्यसका लागी एमाले अध्यक्ष केपी शर्मा ओली,महासचिव शंकर पोखरेल र सुदुरपश्चिमका एमालेका शिर्ष नेताहरु लेखराज भट्ट र कर्ण थापाबीच समेत सहमति भइसकेको छ ।

एमालेको केन्द्रीय समितिको २५ र २६ गते बस्ने बैठकले प्रदेश अधिवेशनको मिति तोक्ने कार्यसूची छ । एमालेले पार्टीको प्रदेश संरचनालाई प्रभावकारी बनाउने गरी काम गर्ने योजना बनाएको छ । त्यसका लागी सक्षम र प्रभावशाली नेताहरुलाई प्रदेशको जिम्मेवारी सुम्पने पार्टी नेतृत्वको तयारी छ ।

एमालेले एक नम्बर प्रदेशमा विशाल भट्टराई, वाग्मतीमा कृष्णभक्त पोखरेल, गण्डकीमा पदम गिरी, विकास लम्शाल र हिरा केसीलगायत नेताहरुलाई प्रदेशको जिम्मेवारी सुम्पने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement