एमालेको १०औं महाधिवेशन कार्यतालिका सार्वजनिक

एमालेको १०औं महाधिवेशन कार्यतालिका सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु  –  नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न १०औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । आउँदो २ देखि ६ मंसिरसम्म तोकिएको महाधिवेशनका लागि एमालेले कार्यतालिका सार्वजनिक गरेको छ ।

गत ६ , १० र १२ वैशाखमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले गरेका निर्णय अन्तरपार्टी निर्देशनमा कार्यतालिकाबारे उल्लेख गरिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनमा वडादेखि केन्द्रसम्मको अधिवेशनबारे उल्लेख गरिएको छ ।

वडा अधिवेशन ५ भदौ, पालिका अधिवेशन १५ भदौ, जिल्ला अधिवेशन ३० भदौ र २३ असोजमा प्रदेश अधिवेशनको कार्यतालिका रहेको छ । सम्बन्धित तहका अधिवेशन सम्पन्न भएपछि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीलाई अद्यावधिक गरिनेछ ।

२३ फागुनमा सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युँताउने निर्णय गरी एमाले ब्युतिँएपछि पार्टीमा भएका निर्णयको जानकारी गराउँदै अध्यक्ष ओलीले अन्तरपार्टी निर्देशन जारी गर्दै त्यसको कार्यान्वयनका लागि पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

जारी निर्देशनमा अध्यक्ष ओली आफ्नो राजनीतिक प्रतिवेदन, महासचिवले तयार पारेको संगठनात्मक प्रतिवेदन, स्थायी कमिटीको गठन, पार्टीमा भएका अनुशासन कारबाहीलगायत समावेश गरेका छन् ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको उपस्थितिबिना बालुवाटारमा बसेको बैठकमा उपप्रधानमन्त्री एवं महासचिव ईश्वर पोखरलद्वारा संठनात्मक प्रस्ताव प्रस्तुत गरिएको थियो । पोखरेलको प्रस्तावलाई बैठकले सुझावसहित पारित गरेको थियो ।

महासचिव पोखरेलको संगठनात्मक प्रस्तावमा हाल रिक्त रहेका सांसद पदमा जेठको अन्तिम साता उपनिर्वाचन गराउन सरकारलाई सुझाव दिइएको छ । सरकारले यही ६ जेठमा राष्ट्रिय सभा सदस्यमा रामबहादुर थापाका कारण खाली रहेको एक सिटमा उपचुनाव गर्ने मिति तय गरिसकेको छ । अब प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी र लेखराज भट्टको सिटमा उपनिर्वाचनको मिति तय गर्न बाँकी छ ।

त्यस्तै प्रदेशसभामा दर्जनौं सिट रिक्त बनेका छन् । स्थानीय तहमा पनि धेरै ठाउँमा उपचुनाव गर्न बाँकी छ । निर्वाचन आयोगले यी तीनै तहका रिक्त पदमा एकैचोटि उपचुनाव गर्ने बताउँदै आएको छ ।

नेपाल समूहको हकमा संगठनात्मक प्रस्तावमा भनिएको छ, ‘कमिटीमा अन्तरविरोधको पल्लो किनारामा उभिएका कमरेडलाई पार्टीको मूल प्रवाहमा फर्काउन अधिकतम पहल गर्ने र त्यसरी फर्किने कमरेडलाई आवश्यकता र योग्यताअनुरूप उपयुक्त जिम्मेवारी दिने ।’

एमालेको ७ पुस २०७७ मा विस्तारित केन्द्रीय कमिटीका सदस्य राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुने, यसका साथै केन्द्रीय निकायका पदाधिकारी तथा सदस्य, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका अध्यक्ष, विभागका सचिवहरु, जनसंगठनका अध्यक्ष, प्रवास क्षेत्रबाट मनोनित राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य अपानीमा उल्लेख गरिएको छ ।-यो समाचार आजको राजधानी दैनिकमा छ ।